हेटौंडा/ मकवानपुरको हेटौडा उपमहानगरपालिका–१५ भोर्लेमा मंगलबार साँझ गोठमा आगलागी हुँदा १० वटा बाख्रा जलेर मरेका छन् भने एक गाईको बाच्छी घाइते भएको छ।
स्थानीय सानुकाजी स्याङवोको काठ र जस्ताले बनेको गोठमा साँझ करिब ७:१५ बजे आगलागी भएको प्रहरीले जनाएको छ। खबर प्राप्त हुनासाथ प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षक गौरिशंकर साहको कमाण्डमा टोली खटिएको थियो।
प्रहरी, दमकल र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा करिब ७:४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीका कारण गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार मुसा धपाउनका लागि गोठ नजिक बालिएको आगोबाट आगलागी भएको खुलेको छ। घटनाबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।
उक्त घटनास्थल प्रहरी चौकी रातोमाटेबाट करिब ४ किलोमिटर पूर्वमा पर्दछ।

















