हेटौंडा / मकवानपुर प्रहरीले अवैध घरेलु मदिरा उत्पादन भइरहेको सूचनाको आधारमा खानतलासी गरी तीन जनालाई नियन्त्रणमा लिएको छ।
मिति २०८२ साल चैत २३ गते साँझ करिब ५:३० बजे जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्ट प्रा.लि. नजिक स्थानीय विष्णु अवस्थीको घरमा डेरा गरी बस्दै आएका भिमान सिंह तामाङको घरमा छापा मारेको थियो।
छापामार कार्यका क्रममा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको फेला परेपछि मदिरा भट्टी सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये काभ्रे तेमाल गाउँपालिका–५ घर भई हाल हेटौंडा–१६ बस्दै आएका अन्दाजी ६७ वर्षीय भिमान सिंह तामाङ रहेका छन्। साथै सोही भट्टीमा काम गर्ने अन्दाजी १९ वर्षीय लिला बहादुर तामाङ र मकवानपुर बकैया गाउँपालिका–४ का अन्दाजी २२ वर्षीय शिवराज ठकुरीलाई पनि नियन्त्रणमा लिइएको छ।
प्रहरीले घटनास्थलबाट करिब ५०० लिटर तयारी घरेलु मदिरा र २५०० लिटर कच्चा पदार्थ नष्ट गरेको जनाएको छ। साथै मदिरा बनाउने मेसिन १ थान, प्लास्टिकका १५ वटा ड्रम, ग्यास सिलिन्डर ७ वटा, फलामका स्टेन्ड ३ वटा, भट्टे चुलो १ वटा, मर्चा आधा कार्टुन, सोडा आधा कार्टुन तथा कोदो ४० बोरा बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















