मकवानपुरमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना: २ जनाको मृत्यु, ७ जना घाइते

Image

हेटौंडा/ मकवानपुरमा भएका दुई फरक सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
पहिलो दुर्घटना हेटौंडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित धरान–चतरा सडक खण्डमा २०८२ वैशाख ४ गते दिउँसो करिब १२:३५ बजे भएको हो। हेटौंडाबाट फुर्केचौरतर्फ जाँदै गरेको ना ३९ प ३७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा.प्र.०३–००५ प ७२१९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्त बहादुर बि.सि. (४०), राजु थिङ (३५), सुर्यमणी खतिवडा (३८) र १०/१२ वर्षीय प्रशान्त वाईबा घाइते भएका छन्। उनीहरूमध्ये खतिवडाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यमदेखि सामान्य रहेको बताइएको छ। घाइतेहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। यसै क्रममा एक अज्ञात पुरुष (अन्दाजी ३५/३६ वर्ष) को उपचारकै क्रममा दिउँसो १:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दोस्रो दुर्घटना २०८३ असार ४ गते दिउँसो करिब १:५५ बजे मकवानपुरको बागमती गाउँपालिका–७ पाथिभरास्थित मदन भण्डारी लोकमार्गमा भएको हो। सडकको बायाँ किनारामा रोकिराखेको ना २ ह ४५९२ नम्बरको अटोलाई हेटौंडाबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्र.३–०१–०२३ च ३०८१ नम्बरको कारले ठक्कर दिँदा दुर्घटना भएको हो। ठक्करपछि दुवै सवारी नालीमा खसेका थिए।

दुर्घटनामा अटो चालक यमन राई (२५), ११ वर्षीय सुबिन पुलामी मगर र चिनी माया रुम्बा (४०) घाइते भएका थिए। घाइतेमध्ये रुम्बाको अवस्था गम्भीर रहेको थियो। उनलाई हेटौंडा अस्पताल ल्याई उपचारका क्रममा दिउँसो ३:०० बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

कार चालक सुजना लामा (३५) भने सकुशल रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै घटनाका सवारी साधनहरू प्रहरी नियन्त्रणमा रहेका छन् भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।