हेटौंडा/ जिल्ला मकवानपुरको बकैया गाउँपालिका वडा नं. ८ र ३ को सिमानामा पर्ने बकैया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।
मिति २०८३ साल वैशाख ०७ गते दिउँसो करिब १:५० बजे बकैया गाउँपालिका वडा नं. ९, च्याउच्या बस्ने अन्दाजी ३५ वर्षीय लाक्पा भोलनको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्राप्त जानकारी अनुसार लाक्पा भोलन आफ्नी करिब १० वर्षीया भतिजीलाई साथमा लिएर खोलामा गएका थिए। उनले भतिजीलाई बाहिर राखी आफैं खोलामा पौडी खेल्न पसेका थिए। सोही क्रममा उनी पानीमा डुबेका हुन्।
घटनाको जानकारी २:३० बजे प्राप्त हुनासाथ प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















