अब कागजमा होइन, वास्तविकतामा राजधानी बनाऔँ’: अध्यक्ष सिग्देल

Image

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नविन सिग्देलले सामाजिक सञ्जाल फेसबुकमार्फत हेटौंडालाई केवल प्रशासनिक रूपमा नभई व्यवहारमै सुविधासम्पन्न “वास्तविक राजधानी” बनाउने सोच विकास गर्नुपर्ने बताएका छन्।

उनले बाग्मती प्रदेश को राजधानी हेटौंडालाई पालिका संरचनामा मात्र सीमित राख्नु उपयुक्त नहुने उल्लेख गर्दै केन्द्रीय राजधानी काठमाडौं जस्तै फराकिलो दृष्टिकोणबाट विकास गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। “राजधानीलाई पालिका, नगरपालिका, उपमहानगरपालिका वा महानगरपालिका भनेर मात्र सीमित गरिरहनु पर्दैन,” उनले भनेका छन्।

अध्यक्ष सिग्देलका अनुसार राजधानीको वास्तविक पहिचान निश्चित मापदण्डसहितको समग्र विकासबाट मात्रै सम्भव हुन्छ। “यदि आवश्यक मापदण्ड पूरा गरी विकास गर्न सकिएन भने राजधानी कागजमा मात्र सीमित हुन्छ,” उनले उल्लेख गरेका छन्।

उनले हेटौंडालाई शिक्षा, स्वास्थ्य, खेलकुद, भाषा–साहित्य तथा संस्कृतिको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। साथै पर्यटन, उद्योग र कृषि क्षेत्रलाई समेत सशक्त बनाउँदै आधुनिक सहरका मापदण्डअनुसार पूर्वाधार निर्माण गर्नुपर्ने उनको भनाइ छ।

सिग्देलले हेटौंडा उपमहानगरपालिकालाई महानगरपालिकामा रूपान्तरण गर्नेभन्दा “बाग्मती प्रदेश राजधानी हेटौंडा” को रूपमा पहिचान स्थापित गर्नतर्फ ध्यान दिनुपर्ने बताएका छन्। “अब कागजमा मात्र होइन, व्यवहारमै राजधानी बनाऔँ,” उनले आह्वान गरेका छन्।
उनका अनुसार विश्वले चिन्ने राजधानी बनाउन संकल्पसहित सोच र विकासको दिशा परिवर्तन आवश्यक रहेको बताएका छन्।