हेटौंडा–११ मा ट्रकले ठक्कर दिएका प्रहरी सहायक हवल्दारको मृत्यु

Image

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पूर्व–पश्चिम सडकखण्डमा ट्रकको ठक्करबाट एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

मंगलबार राति अन्दाजी ८ बजे नवलपुरतर्फबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.प्र.०३–००५ प १४१५ नम्बरको स्कुटरलाई सोही दिशाबाट पछाडिबाट आउँदै गरेको ना ५ ख ५२५२ नम्बरको फलाम लोड ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक जिल्ला नुवाकोट तादी गाउँपालिका–६ स्थायी वतन भई नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुरमा कार्यरत प्रहरी सहायक हवल्दार किरण श्रेष्ठलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले राति ८:२५ बजे उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ट्राफिकसहितको टोली खटिएको थियो। दुर्घटनामा संलग्न ट्रक, स्कुटर तथा ट्रक चालक जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने २४ वर्षीय रन्जित कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।