हेटौंडाका भूमिहीन सुकुम्बासीबारे तत्काल साझा धारणा ल्याउन वडा अध्यक्ष सिग्देलको माग

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नविन सिग्देल ले हेटौंडा क्षेत्रका भूमिहीन सुकुम्बासीहरूको विषयमा स्थानीय तह र राजनीतिक दलहरूले तत्काल साझा धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराउँदै उनले हेटौंडा उपमहानगरपालिका को बैठक तत्काल बसालेर भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्याबारे स्पष्ट धारणा ल्याउन आवश्यक रहेको उल्लेख गरेका छन्।

सिग्देलले विगतमा निरन्तर प्रयास हुँदाहुँदै पनि भूमिहीन सुकुम्बासीहरूको उचित व्यवस्थापन हुन नसकेको स्वीकार गर्दै, अहिले भने मानवीय र व्यवहारिक पक्षलाई बेवास्ता गर्दै उठिबास गराइएको आरोप लगाए। उनले यसलाई “एकदलीय सरकारको दानवी चरित्र” को संज्ञा दिँदै कडा आलोचना गरेका छन्।

उनका अनुसार हेटौंडा क्षेत्रभित्र रहेका अतिक्रमित, अव्यवस्थित र वास्तविक भूमिहीन सुकुम्बासीहरूको छुट्टाछुट्टै वर्गीकरण आवश्यक छ। “कति वर्षदेखि कुन अवस्थामा घर बनाएर बसेका छन्, त्यसको आधारमा व्यवस्थापनको मोडालिटी तय गर्नुपर्छ,” उनले उल्लेख गरेका छन्।

सिग्देलले स्थानीय राजनीतिक दलहरूबीच यस विषयमा साझा धारणा आउनुपर्ने आवश्यकता औँल्याउँदै नेकपा एमाले मकवानपुर बाहेक अन्य दलहरू मौन रहेको टिप्पणी गरेका छन्।

उनले पीडित नागरिकहरूलाई थप पीडित बन्न नदिन स्थानीय जनप्रतिनिधि र राजनीतिक दलहरूले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

“संकटको बेला मौन बस्नु समाधान होइन,” उनले भनेका छन्, “सत्ता निरंकुश र दानवीय बन्दै गइरहेको बेला हामीलाई मुकदर्शक बन्ने र चुप बस्ने छुट छैन।”