हेटौंडा / नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरले सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीहरूको समस्यालाई लिएर जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ध्यानाकर्षण पत्र बुझाएको छ । सोमवार विहान अनेरास्ववियु मकवानपुरका अध्यक्ष नवराज शर्मा पौडेलको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ७ बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा जिल्लाभित्र रहेका वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको वैज्ञानिक पहिचान गरी तत्काल वास्तविक तथ्याङ्क सार्वजनिक गर्न माग गरिएको छ । यस्तै वास्तविक सुकुम्बासीहरूलाई कानुनी प्रक्रिया पूरा गरी अविलम्ब जग्गाको स्वामित्व (लालपुर्जा) प्रदान गरी सुरक्षित बसोबासको सुनिश्चितता गर्न माग गरिएको छ ।
सुकुम्बासी बस्तीका बालबालिकाहरू आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित नहोउन भन्नका लागि विशेष शैक्षिक प्याकेज, निःशुल्क भर्ना र उच्च शिक्षासम्म छात्रवृत्तिको ग्यारेन्टीको मागगरिएको छ । यस्तै विकल्प र उचित व्यवस्थापन बिना सुकुम्बासी बस्तीहरूमा बल प्रयोग गर्ने, डोजर चलाउने वा बालबालिकाहरूको मनोविज्ञानमा असर पर्ने गरी त्रास फैलाउने कार्य तत्काल बन्द गर्नुपर्ने लगाएतको ७ वटा बुदाँहरु रहेका छन ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सुकुम्बासी बस्तीमा हचुवाको भरमा डोजर नचल्ने स्पष्ट पारे । उनले सुकुम्बासीहरूको यथार्थ लागत संकलन र उचित व्यवस्थापनको खाका तयार पारेर मात्र सरकारी प्रक्रिया अगाडि बढाइने बताए ।
प्रजिअ अधिकारीले भने “विद्यार्थीहरू त्रसित हुनुपर्ने कुनै कारण छैन । “विद्यार्थीहरू ढुक्क भएर अध्ययनमा लाग्नुहोस् । विशेष गरी विद्यार्थीलाई प्रत्यक्ष असर पर्ने गरी कुनै पनि कार्य गरिने छैन।“ उनले विद्यार्थीका लागि निःशुल्क भर्ना र बिजुली जस्ता आधारभूत सुविधाका विषयमा सरकारका तर्फबाट हुन सक्ने सहयोग र समन्वय गर्ने प्रतिबद्धता समेत जनाए ।
उक्त ध्यानाकर्षण पत्र हस्तातरण कार्याक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला सचिवालय सदस्य भारत देवकोटा, मकवानपुर क्याम्पस स्ववियु सदस्य एवं अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष उन्नत देवकोटा, हेटौंडा क्याम्पस कमिटी अध्यक्ष नितेश भण्डारी, हेटौंडा उपमहानगरपालिका अध्यक्ष रिजन जि.सी., विद्यार्थी नेता सुमन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।















