निर्मल माध्यमिक विद्यालय मा शैक्षिक सुधारको संकेत, कक्षा ११ र एसईई नतिजामा प्रगति

Image

हेटौंडा/ मकवानपुरको हेटौँडा–१९ बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालय ले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्दै विद्यालयको शैक्षिक उपलब्धिमा क्रमिक सुधार आएको जनाएको छ। विद्यालयले वैशाख १७ देखि २४ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो।

विद्यालयका प्रधानाध्यापक प्रवोध बिडारी का अनुसार परीक्षामा सहभागी १४२ विद्यार्थীমध्ये १२३ जना ग्रेडेड भएका छन्। विद्यालयमा शिक्षा, व्यवस्थापन, मानविकी, कानुन तथा कम्प्युटर साइन्स संकायमा अध्ययन भइरहेको छ।विद्यालयले कक्षा १२ को नयाँ शैक्षिक सत्रको पठनपाठन जेठ १ गते शुक्रबारदेखि सुरु गर्ने तयारी गरेको जनाएको छ।

यस वर्ष विद्यालयको Secondary Education Examination (SEE) नतिजामा पनि अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ। नियमिततर्फ परीक्षामा सहभागी ८५ विद्यार्थीमध्ये ३१ जना ग्रेडेड भएका छन् भने ग्रेड वृद्धितर्फ २७ जना विद्यार्थी सफल भएका छन्। गत वर्ष २०८१ मा ९२ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदा २५ जना मात्रै ग्रेडेड भएका थिए। यसपटकको सुधारलाई विद्यालयले सकारात्मक उपलब्धिका रूपमा लिएको छ।

प्रधानाध्यापक बिडारीका अनुसार आगामी दिनमा नतिजालाई अझ प्रभावकारी बनाउन विशेष शैक्षिक सुधार योजना लागू गरिनेछ। हाल विद्यालयमा कक्षा १० मा १०२ विद्यार्थी अध्ययनरत छन् भने यस वर्ष कक्षा १२ को वार्षिक परीक्षामा ८२ विद्यार्थी सहभागी भएका छन्। कक्षा १२ सम्म अध्ययन हुने विद्यालयमा हाल करिब १ हजार ३ सय विद्यार्थी अध्ययनरत रहेका छन।