हेटौडा–४ मा बृहत् नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

Image

हेटौडा/ हेटौडा उपमहानगरपालिका–४ मा बृहत् नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। वडा नं. ४ कार्यालयको आयोजनामा आगामी २०८३ जेठ ३० गते बिहान ८:०० बजेदेखि साँझ ४:०० बजेसम्म शिविर सञ्चालन गरिने भएको हो।

शिविर क्वीक ट्वान्टी पार्टी प्यालेस, हेटौडा–४ मा सञ्चालन हुनेछ। आयोजकका अनुसार शिविरमा मुटु रोग, स्त्री रोग तथा क्षयरोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिनेछ।

त्यसैगरी, शिविरमा भिडियो एक्स–रे, ईसीजी, इकोकार्डियोग्राफी सेवा, सुगर तथा लिपिड प्रोफाइल परीक्षण, छातीको एक्स–रे तथा दम (PFT) जाँचलगायतका विभिन्न स्वास्थ्य परीक्षण सेवाहरू उपलब्ध हुनेछन्। महिलाहरूका लागि पाठेघर तथा पाठेघर मुखको क्यान्सर जाँचसमेत गरिनेछ।

शिविरमा जनरल फिजिसियन सेवा पनि उपलब्ध हुने र आवश्यक परेमा बिरामीहरूलाई ७ दिनसम्मका लागि नि:शुल्क औषधि वितरण गरिने व्यवस्था मिलाइएको छ।

कार्यक्रम वडा नं. ४ कार्यालयको आयोजनामा, नेपाल हृदय रोग निवारण प्रतिष्ठान, मकवानपुरको सहआयोजनामा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेष प्राविधिक सहयोग तथा टोल विकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा सञ्चालन हुनेछ।

वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले स्थानीय बासिन्दाहरूलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन्।