हेटौंडा/ हेटौंडा उपमहानगरपालिका र AHF नेपाल–हेटौंडाको संयुक्त आयोजनामा श्री युग चेतना माध्यमिक विद्यालय, हेटौंडामा विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत HIV/AIDS सचेतना कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक शंकर बहादुर थिङको अध्यक्षतामा आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रतिनिधि अस्मिता बैदारको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण AHF नेपाल–हेटौंडाका प्रतिनिधि अमृत लामिछानेले गर्नुभएको थियो।
कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरूलाई HIV/AIDS सम्बन्धी वैज्ञानिक तथा व्यवहारिक जानकारी प्रदान गरिएको थियो। सहभागीहरूलाई HIV र AIDS बीचको भिन्नता, HIV सर्ने तथा नसर्ने माध्यम, रोकथामका उपाय, परीक्षणको महत्त्व, ART उपचार तथा U=U (Undetectable = Untransmittable) सम्बन्धी जानकारी दिइएको थियो।
सहजीकरणका क्रममा HIV सम्बन्धी समाजमा विद्यमान भ्रम तथा गलत धारणाहरूलाई तथ्यमा आधारित जानकारीमार्फत स्पष्ट पारिएको थियो। साथै HIV संक्रमित व्यक्तिहरूप्रति हुने भेदभाव तथा सामाजिक कलंक न्यूनीकरण गर्न सम्मानजनक व्यवहार र समावेशी सोचको आवश्यकता रहेको विषयमा विशेष जोड दिइएको थियो।
कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार विश्वभर करिब ४०.८ मिलियन मानिस HIV सहित बाँचिरहेका छन्। नियमित ART उपचारको पहुँच विस्तार हुँदै गएको र उपचारको निरन्तरताले HIV संक्रमित व्यक्तिहरूले स्वस्थ, उत्पादक तथा लामो जीवन बिताउन सक्ने सन्देशसमेत कार्यक्रममा प्रवाह गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक थिङले विद्यार्थीहरूमा स्वास्थ्यसम्बन्धी सही जानकारी प्रवाह गर्न यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। त्यसैगरी उपमहानगरपालिका प्रतिनिधि बैदारले युवाहरूमा सचेतना वृद्धि भए HIV संक्रमण रोकथाम तथा भेदभाव न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई “HIV भाइरस हो, श्राप होइन। परीक्षण गरौं, उपचार गरौं र सम्मानजनक व्यवहार गरौं।” भन्ने सन्देश दिइएको थियो। आयोजकका अनुसार उक्त कार्यक्रमले विद्यार्थीहरूमा HIV/AIDS सम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै स्वास्थ्यप्रति जिम्मेवार व्यवहार, समानता र सम्मानको संस्कार विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।















