हेटौंडा । स्थानीय तहमा खेलकुदमार्फत युवालाई जोड्ने तथा समुदायबीच आपसी एकता र सद्भावलाई थप मजबुत बनाउने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिका–१५ मा चौथो संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ।
वडा नं. १५ अन्तर्गतका साविक वडा नं. ३ देखि ९ सम्मका सात टोली सहभागी रहेको नकआउट प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा प्रस्फुटनका साथै खेल संस्कृतिको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक चुरियामाई–५ र चुरियामाई–८ बीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा चुरियामाई–५ ले १–० गोल अन्तरले जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
हेटौंडा–१५ टोल समन्वय समितिका अध्यक्ष सिंह विश्वकर्माको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा अध्यक्ष सुनिल मुक्तान प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा वडा सदस्यहरू सिंहबहादुर लो, मिनु विश्वकर्मालगायत स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष मुक्तानले प्रतियोगिता केवल जित–हारमा सीमित नभई युवाहरूलाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने, आपसी भाइचारा अभिवृद्धि गर्ने तथा समुदायमा खेलकुद संस्कृतिलाई संस्थागत गर्ने उद्देश्यले आयोजना गरिएको बताउनुभयो।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ६५ हजार रुपैयाँ, ट्रफी, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले नगद ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ।















