स्नुकर खेलको प्रवर्द्धनमा जुट्यो हेटौँडा–१५, सोमबारदेखि प्रतियोगिता

Image

हेटौँडा । स्थानीयस्तरमा स्नुकर खेलको आकर्षण बढाउँदै राष्ट्रिय खेलाडीलाई एउटै प्रतिस्पर्धामा जुटाउने उद्देश्यसहित हेटौँडा–१५ मा ‘वडा अध्यक्ष कप–२०८३ राष्ट्रिय स्नुकर च्याम्पियनसिप’ आयोजना हुने भएको छ।

प्रतियोगितामा देशका विभिन्न सहरबाट आएका १६ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको टाइसिट सार्वजनिक भएसँगै खेलाडीबीचको प्रतिस्पर्धा थप रोचक हुने अपेक्षा गरिएको छ।

हेटौँडा–१५ स्थित लियम स्नुकर हाउसमा हुने प्रतियोगिताको उद्घाटन सोमबार (कात्तिक ११ गते) बिहान ९ बजे हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले गर्ने कार्यक्रम छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेताले एक लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र सेमिफाइनलमा पुग्ने खेलाडीले जनही १५ हजार रुपैयाँ पाउनेछन्। हाइएस्ट ब्रेककर्तालाई १५ हजार तथा सेन्चुरी ब्रेक गर्ने खेलाडीलाई जनही ११ हजार १११ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।