हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले लोकतन्त्र र संविधानको रक्षाका लागि राजनीतिक दलहरूभित्र आत्मसमीक्षा, एकता र सुधार आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिग्देलले संसद्, सिंहदरबार र सर्वोच्च अदालत जलाइएको घटनापछिको परिस्थितिमा बनेको वर्तमान सरकारको वैधता र कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनले सरकारलाई प्रायोजित परिस्थिति, प्रायोजित निर्वाचन र प्रायोजित परिणामबाट बनेको सरकारका रूपमा टिप्पणी गरेका छन्।
उनले वर्तमान सरकारले संविधान, लोकतन्त्र र विधिको शासनको रक्षा नगरेको आरोप लगाउँदै आफूलाई दिइएको राजनीतिक कार्यभार पूरा गर्न केन्द्रित रहेको उल्लेख गरेका छन्।
लोकतन्त्र र संविधान स्थापनाका लागि लामो संघर्ष गरेका राजनीतिक दलहरूबीच स्पष्टता र एकता आवश्यक रहेको उनको भनाइ छ। लोकतन्त्र र संविधानको रक्षा तथा पुनःस्थापनाका लागि आवश्यक परे पुनः संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताएका छन्।

















