हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
मिति २०८३ मंसिर ६ गते साँझ करिब ७ बजे उपचौर निवासी प्रकाश बलको काठले बनेको खरले छाएको दुई तले घरमा आगलागी भएको हो। घरमा कोही नभएको अवस्थामा बालबालिकाले आगो खेल्ने क्रममा आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
स्थानीयवासीको सहयोगमा करिब एक घण्टापछि साँझ ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै घरभित्र रहेका अन्नपात, लत्ताकपडा तथा भाँडाकुँडासमेत जलेर नष्ट भएका छन्।
घटनामा मानवीय तथा चौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ। आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

















