हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष सूचनाकाे आधारमा अबैधरुपमा भारत लैजाँदै गरेको ५८ कार्टुन भेप (इलेक्ट्रिक चुरोट) सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
हेटौंडा–११ मा रहेको थानाभर्याङमा वाग्मती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीको संयुक्तरुपमा खटिएको टोलीले विहीबार राति करिब ८ बजेको समयमा काठमाडौं देखि हेटौंडाहुँदै भारत तर्फ जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रु बाहक बसबाट करिब २ करोड ७१ लाख २१ हजार ७८० रुपैयाँ मूल्य बराबरको अबैध भेपसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गरी भन्सार छलेर अबैधरुपमा भेप ओसारपसारमा सक्रिय रहेका हरुलाई सार्वजनिक गरेको छ।

को-को परे त पक्राउ? पक्राउ परेका हरुको नाम ।
दोलखा भीमश्वेर नगरपालिका–२ का ३७ वर्षीय सलाम मोक्तान, कटारी नगरपालिका–११, उदयपुरका २७ वर्षीय प्रविन्द्र राना, दुप्चेश्वर गाउँपालिका, नुवाकोटको ३९ वर्षीय इन्द्रबहादुर दर्जी र ३० वर्षीय सन्तोष भुषाल, धनकुटा बेलार नगरपालिका–१६ का २९ वर्षीय राजकुमार हिमाङ रहेका छन्।
मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालका अनुसार पक्राउ परेकाहरुले बसको यात्रु बस्ने सिटमाथि सिलिङको भागमा फल्स वटम बनाएर यसरिनै लामो समयदेखि अबैधरुपमा बिभिन्न सामानहरु भन्सार छलि गरेर तस्करी गर्दै आइरहेको र प्रहरीले बससहित पक्राउ परेका पाँचै जनालाई थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सीताराम रिजालले बताएका छन ।














