हेटौंडा। बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ पर्सि १९ गते शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ११ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ ।
आज विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै ११ नम्बर वडाकी वडा अध्यक्ष जुना दाहालले निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिन लागिएको जानकारी दिनुभयो।
बालमैत्री वडा घोषणाको पूर्वसन्ध्यामा रहेको जानकारी गराउँदै वडाकी अध्यक्ष दाहालले बालमैत्री वडा घोषणा भएपछि पनि बालबालिकाको क्षेत्रमा उचित र आवश्यक लगानीमा वडा निरन्तर लागिपर्ने बताउदै यस अभियानलाई दिगो रुपमा अघि लाने र बालबालिकामा निगरानी राखि उनीहरुको भविष्य उज्वल बनाउन सदैब तत्पर रहने बताउनुभयो।
यसअघि हेटौंडा उपमहानगरपालिकामा रहेका ८ वटा वडाहरु लाई बालमैत्री वडा घोषणा गरिएको छ भने यस वडालाई पनि भव्य र सभ्य समारोहका बिच बालमैत्री वडा घोषणा गर्न लागिएको जानकारी दिनुभयो।
बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४४ वटा सुचकहरु १०० प्रतिशत र १ वटा सुचक ९८ प्रतिशत १ वटा सुचक ९७, १ वटा ९५, १ वटा सुचक ९०, १ वटा सुचक ८१ र १ वटा सुचक ८० प्रतिशत सम्म नतिजा हासिल भएको वडाका लागि बाल सहजकर्ता क्रिस्टिना मैनालीले बताइन् ।
२०७९ अनुसार वडा भित्रको तथ्यांक संकलन गर्दा कुल ११ हजार १ सय ५ जनसङ्ख्या रहेको छ भने जसमा १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या ३ हजार ४ सय १७ रहेको छ जसमा १ हजार ७ सय ९८ बालक र १ हजार ६ सय १९ बालिका रहेका छन् ।
यस अवधिमा वडाका विभिन्न स्थानहरुबाट बालश्रमिकहरुको उद्वार गरि पारिवारिक मिलन समेत गरिएको छ भने बालविवाहहरु रद्ध गरिएका छन् । यसाघि यस वडालाई पुर्ण खोप वडा, पुर्ण साक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा गरिसकेको छ। साथै त्यसै कार्यक्रमका बिच बिभिन्न किसिमका स्वास्थ्य सम्बन्धी चेकजाँच गरिने जानकारी वडा अध्यक्ष जुना दाहालले बताउनुभयो।