हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधारण सभा तथा निर्वाचनको पूर्वसन्ध्यामा संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाटले संघको अध्यक्ष पदका लागि औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार हेटौँडाको पल्पसा रोडस्थित एक कार्यक्रममार्फत रानाभाटले आफ्नो उम्मेदवारी घोषणा गर्नुका साथै नयाँ सचिवालयको उद्घाटन गरेका छन्। सचिवालय उद्घाटनको उनका पिता डम्बर बहादुर रानाभाटले रिबन काटेर औपचारिक उद्घाटन गर्नुभयो ।
सचिवालय उद्घाटन कार्यक्रममा बोल्दै प्रमोद सिंह रानाभाटले व्यवसायीको हकहित र आर्थिक विकासका लागि आफ्नो सक्रिय भूमिका रहने प्रतिवद्धता जनाउदै व्यवसायीका समस्याहरूको सम्बोधन गर्दै संस्थालाई समृद्ध र प्रभावकारी बनाउदै थप उचाइमा पुर्याउने लक्ष्यका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभयो।
अघिल्लो निर्वाचनमा निर्वाचित रानाभाटले संघको विभिन्न गतिविधिहरूमा योगदान पुर्याउँदै व्यावसायिक क्षेत्रमा सशक्त उपस्थिति जनाएका छन्। उनी लामो समयदेखि मकवानपुरको व्यवसायी समुदायसँग निकट रहेर काम गर्दै आएका छन्। संघलाई व्यवस्थित र आर्थिक गतिविधिमा थप प्रभावकारी बनाउने योजनाका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताए।
सचिवालय उद्घाटन र उम्मेदवारी घोषणा कार्यक्रममा मकवानपुरका विभिन्न व्यवसायीहरूले रानाभाटको कदमको समर्थन गर्दै उनलाई आगामी अध्यक्षको रूपमा स्वीकार्न तयार रहेको जनाएका छन्। स्थानीय व्यवसायी र सदस्यहरूले रानाभाटको नेतृत्व क्षमताको प्रशंसा गर्दै व्यवसायीका समस्याहरू समाधान गर्न उनी उपयुक्त उम्मेदवार भएको बताएका छन्। प्रमोद सिंह रानाभाट अहिले मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष हुन्। मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधारण सभा तथा निर्वाचन पुष २४ देखी २७ गते हुने भनिएको छ ।















