हेटौंडा गैरीगाउँमा वैशाख १९ गते जमिन भासिँदा गाडी हराएको घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक

Image

हेटौंडा/  हेटौंडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा वैशाख १९ गते जमिन भासिँदा ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी हराएको घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ। खानी तथा भूगर्भ विभागको टोलीले गरेको अध्ययन अनुसार घटनाको मुख्य कारण जमिनमुनिबाट लामो समयसम्म निष्कासित भएको सिल्ट मिसिएको धमिलो पानी रहेको पुष्टि भएको छ।

घटनास्थलमा करिब पाँच वर्षअघि खनिएको बोरिङबाट निरन्तर रुपमा सिल्टयुक्त पानी निस्कँदै आएको पाइयो। भूगर्भविद्हरूका अनुसार यही प्रक्रियाले जमिनभित्र स-साना खोच (भ्वाङ) बनाउँदै लगेको र माथिबाट पर्ने भारका कारण ती भ्वाङहरू क्रमशः एकीकृत भई जमिन भासिएको हो।

टोलीले घटनास्थलको भू–चुम्बकीय परीक्षण गर्दा भासिएको क्षेत्रको पूर्वी भागमा करिब ४ बाइ २ मिटर क्षेत्रफलमा उच्च चुम्बकीय असामान्यता पाइएको छ। उक्त स्थानमा हराएको बोलेरो गाडी हुन सक्ने सम्भावनालाई उच्च देखाइएको छ। यथार्थ पहिचानका लागि टोलीले ८ मिटर गहिराइसम्म फलामे ड्रिलिङ रड प्रयोग गर्दा ६ मिटर गहिराइमा अवरोध भेटिएको थियो, जसले सवारीसाधन त्यही गहिराइमा गाडिएको हुन सक्ने अनुमानलाई बल दिएको छ।

यसरि भत्किएको थियो।

माटो परीक्षणबाट पाइएको नतिजा अनुसार, जमिनको सतहदेखि ५ मिटर गहिरासम्म सिल्ट मिसिएको क्ले र त्यसपछि मसिनो वालुवाको तह रहेको पुष्टि भएको छ। साथै जमिनको सतहभन्दा करिब ५.५ मिटर तल भूमिगत जल सतह रहेको पनि देखिएको छ।

विशेषज्ञहरूको निष्कर्षमा अनुसार जमिनको संरचना निकै खुकुलो र कमजोर छ। यस अवस्थामा कुनैपनि गह्रौंतो उपकरण प्रयोग गरेर गाडी निकाल्ने कार्य जोखिमपूर्ण हुने भएकाले विस्तृत इन्जिनियरिङ योजना, थप अध्ययन र प्राविधिक निगरानी आवश्यक रहेको सिफारिस गरिएको छ।

प्रतिवेदनमा घटनास्थल नजिकै बग्ने कर्रा खोलाको आसपास आगामी दिनमा कुनैपनि पूर्वाधार निर्माण गर्दा विस्तृत भूगर्भीय अध्ययन अनिवार्य गर्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ। अध्ययनको क्रममा भूगर्भीय नक्सा, उपग्रह तस्बिर र प्रोटोन म्याग्नेटोमिटर प्रविधिको प्रयोग गरिएको थियो।

उक्त अध्ययन टोलीमा विभागका भूगर्भविद् डा. नारायण अधिकारीको नेतृत्वमा कृष्ण पाण्डे, मणी खनाल र अमर बहादुर थापा सहभागी थिए। घटनासम्बन्धी नमूना परीक्षण लैनचौरस्थित खानी तथा भूगर्भ विभागको जियोटेक्निकल प्रयोगशालामा गरिएको हो।