हेटौंडा / मकवानपुरको भीमफेदी त्रिभुवन राजपथको छैसठी मोडमा मंगलबार दिउँसो भएको गम्भीर गाडी दुर्घटनामा सल्लाको रुखले १४ यात्रुको ज्यान जोगाएको छ। चित्लाङबाट बाराको लालबन्दी जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङगर गाडी ब्रेक फेल भई झण्डै २० मिटर तल खसेर सल्लाको रुखमा अड्किएपछि ठूलो दुर्घटना हुनबाट जोगिएको हो।
दुर्घटनापछि स्थानीय बासिन्दा र प्रहरीको समन्वयमा तत्काल उद्धार कार्य अघि बढाइएको थियो। प्रहरी चौकी भैसे र सिमभञ्ज्यागाबाट खटिएको २५ सदस्यीय टोलीले घाइतेहरुलाई सकुशल निकालेर उपचारका लागि हेटौंडा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो।
गाडीमा सवार १४ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई विशेष उपचारका लागि सघन निगरानीमा राखिएको छ। स्थानीय बासिन्दाले समयमै उद्धार कार्य भएकाले मानवीय क्षति न्यून हुन सकेको बताए।
यस दुर्घटनाले सार्वजनिक सवारीको नियमित प्राविधिक परीक्षण र चालकको सतर्कता आवश्यक रहेको प्रश्न उठाएको छ।

















