२०६० सालताका नेपाल पुलिस क्लबको साख लोभलाग्दो थियो। घरेलु फुटबलमा पुलिसलाई हराउन अरू क्लबलाई ठूलै कसरत गर्नुपर्थ्यो।
२००८ सालदेखि २०११ सम्म तीनपल्ट नेपालको चर्चित रामजानकी कप (लिग) जितेपछि उसले पुलिस फोर्सको नामबाट सहिद स्मारक ए डिभिजन लिग दुई पटक जित्यो। पुलिसले २०१२ र २०१३ सालमा लिग जितेको थियो।
२०६३ सालमा नयाँ स्वरूपको सहिद स्मारक लिगमा महेन्द्र पुलिस क्लब (हाल नेपाल पुलिस क्लब) को नामबाट लिग खेल्यो। जहाँ पुलिसले फेरि सशक्त उपस्थिति देखायो। उसले २०६३ को लिग मात्र जितेन, २०६७ र २०६८ को पनि लिग उपाधि जित्दै ए डिभिजन लिगको उपाधिमा ह्याट्रिक गर्यो।
२०६७ सालको लिगमा पुलिस अपराजित रहँदै च्याम्पियन बनेको थियो। २०६३ मा लिग जितेपछि नेपालको तर्फबाट एएफसी प्रेसिडेन्ट कप खेल्ने सौभाग्य पाएको पुलिसले प्रतियोगिताको फाइनल पुगेर सनसनी मच्चाएको थियो।
पुलिसको नाममा अहिले पनि प्रेसिडेन्ट कपको फाइनल पुग्ने एकमात्र नेपाली क्लबको इतिहास छ। उसको यो इतिहासलाई अहिलेसम्म अन्य क्लबले चुनौती दिन सकेका छैनन्।
पुलिसले घरेलु फुटबलमा प्रभूत्व जमाउँदा क्लबका प्रशिक्षक थिए, विराटकृष्ण श्रेष्ठ। त्यतिबेला पुलिस टिममा रमेश बुढाथोकी, रितेश थापा, राकेश श्रेष्ठ, रविन श्रेष्ठ, अनन्त थापा, पर्वत पाण्डे, भरत खवास, जुमानु राई, भोला सिलवालजस्ता प्रतिभावान खेलाडीको बाहुल्य थियो। पुलिसले २०६८ मा लिग जितेसँगै कोही खेलाडीले संन्यास लिए, केहीलाई चोटले सतायो।
राष्ट्रिय खेलकुद परिषद्को तालिम तथा प्रशिक्षण विभागको उप–निर्देशक भएपछि विराटकृष्णले पनि प्रशिक्षक पद छाडे। त्यसपछि पुलिस टिमको प्रदर्शन विस्तारै ओरालो लाग्दै गयो। पछिल्लो समयलिग तथा घरेलु प्रतियोगितामा पुलिसको उपस्थिति फिक्का बन्दै गयो।
२०६८ मा लिग जितेपछि पुलिस ५ वर्ष उपाधिविहिन बन्यो। २०७३ सालमा सताक्षी गोल्ड कप र विराट गोल्ड कपको उपाधि जितेपछि पुलिससँग फुटबल समर्थकले धेरै आशा राखेका थिए। तर, त्यसपछिका प्रतियोगितामा पनि पुलिसको उपस्थिति बलियो हुन सकिरहेको छैन।
पछिल्ला वर्षमा केही गोल्डकपको उपाधि जितेको पुलिसलाई अहिले जुनै टिमले पनि चुनौती दिन सक्ने भएका छन्। अझ लिगमा पुलिसको उपस्थिति बलियो बन्न सकिरहेको छैन। पछिल्लो पटक च्याम्पियन बनेपछि पुलिसले चार सिजनको ए डिभिजन लिगमा शीर्ष तीनमा समेत स्थान बनाउन सकेन।
२०७६ को ए डिभिजन लिगमा पुलिस पाँचौ भएको थियो। त्यतिबेलाको लिगमा पुलिसले १३ खेलमा ६ जित निकालेको थियो। २ बराबरी खेलेको पुलिस ५ खेलमा पराजित भएको थियो।

यो सिजन पुलिसको प्रदर्शन अझै खस्कियो। लगातार तीन सिजन उपाधि जितेर कीर्तिमान बनाएको पुलिसका लागि यो सिजन आधाभन्दा बढी खेल खेलिसक्दा रेलिगेसनको ‘भय’ थपिएको छ।
पुलिसका प्रशिक्षक अनन्तराज थापाले रेलिगेसनको विषयमा बोलिसकेका त छैनन्। तर अंक तालिकाको विश्लेषण गर्दा पुलिस ‘रेलिगेसन दबाब’ रहेका टिम मध्ये एक हो।
अंक तालिकाको ११ औं स्थानमा रहेको पुलिसले ८ खेलबाट ७ अंक जोडेको छ। पुलिसले १ खेलमा मात्र जित निकालेको छ। ४ खेलमा बराबरीमा रोकिएको पुलिस ३ खेलमा पराजित भएको छ।
पुछारका ७ टिममा ६ अंकको मात्र अन्तर छ। अंक तालिकाको पुछारमा रहेका दुई टिम रेलिगेसनमा पर्ने प्रवाधानअनुसार आठौं स्थानको सातदोबाटो युथ क्लबदेखिका टिम सर्वाधिक दबाबमा छन्।
आठौं स्थानको सातदोबाटो (९ अंक), नवौं स्थानको जावलाखेल (८ अंक), दशौं स्थानको नेपाल एपिएफ (७ अंक), एघारौं स्थानको पुलिस (७ अंक), बाह्रौं स्थानको ब्रिगेड ब्वाइज (६ अंक), तेह्रौं स्थानको च्यासल युथ (५ अंक) र पुछारको फ्रेण्ड्स क्लब (३ अंक) लाई अब बाँकी रहेका ५ खेलमा अंक जोडेर रेलिगेसनबाट बच्ने दबाब छ। यद्यपी नवौं स्थानभन्दा अघि रहेका टिम पनि ढुक्क हुने अवस्थामा छैनन्।
रेलिगेसन दबाबमा रहेका क्लबमध्येमा पुलिस मात्र पूर्व च्याम्पियन हो। पुलिसले हरेक खेलमा तीन अंकका लागि खेल्ने गरेको प्रशिक्षक थापाको भनाइ छ। तर उनले भनेजस्तो पुलिसले तीन अंक प्राप्त गर्ने गरी खेलमा तालमेल गर्न सकेको देखिदैन।
पछिल्लो पटक ब्रिगेड ब्वाइज क्लबसँग बराबरी खेलेपछि प्रशिक्षक थापाले पुलिसले पनि अब विदेशी खेलाडी भित्र्याउन पर्ने धारणा राखेका थिए। अन्य टिममा विदेशी राख्दा टिम बलियो भएको उनको बुझाइ छ।
यसअघिका सिजनसम्म विभागीय टिमहरू आर्मी, पुलिस र एपिएफले विदेशी खेलाडीलाई टिममा आबद्ध गर्ने अभ्यास थिएन। तर यस सिजनमा एपिएफले विदेशी खेलाडीलाई भित्र्याएको छ। विदेशी खेलाडी भित्र्याएपछि एपिएफको खेलमा तुलनात्मकरूपमा सुधार आएको देखिएको छ।
पुलिसले अब लिगमा एपिएफ, च्यासल, एनआरटी, सातदोबाटो र थ्रीस्टारसँग खेल्न बाँकी छ। जसमा एपिएफ, च्यासल र सातदोबाटोलाई पुलिसकै जस्तो रेलिगेसनको चिन्ता छ। त्यसैले यी खेलमा पुलिसले जित निकाल्न सफल भए सहज हुने पक्का छ। सेताेपाटीले लेखेकाे छ ।
