सन्दीपले बिग बास लिगका बाँकी खेल गुमाउने

Image

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बिग बास लिगका बाँकी खेल गुमाउने भएका छन्। होबार्ट हरिकेन्सबाट खेलिरहेका सन्दीपले प्लेअफदेखिका खेलहरु गुमाउने भएका हुन्।

सन्दीप अर्को महिना ओमानमा हुने टी२० विश्वकप ग्लोबल छनोट ‘ए’ को लागि स्वदेश फर्कने छन्। सन्दीप स्वदेश आएलगत्तै टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने उनका व्यवस्थापक रमन शिवाकोटीले जनाकारी दिए।

‘भोली शुक्रबार हिड्ने कुरा छ। उडानहरु हेरिरहेको छ। सबै मिल्यो भने पर्सीसम्म आइपुग्छन् होला,’ शिवाकोटीले भने। सन्दीपले मेलबर्न स्टार्ससँगको खेलपछि विदाइ सन्देश दिएका छन्।

होबार्टले बुधबार लिगको अन्तिम खेल मेलबर्न स्टार्ससँग खेलेको थियो। लिगको अन्तिम खेलमा सन्दीपले आफ्नो पूर्वटोली मेलबर्न स्टार्सविरुद्ध खराब प्रदर्शन गरेका थिए। सन्दीपले ४ ओभरमा ५२ रन खर्चिदा कुनैपनि विकेट लिन सकेनन्।

‘दुर्भाग्यपूर्ण यस सिजनमा यो खेल मेरो अन्तिम हो। अर्को वर्ष फर्कने आशा छ। टिमलाई साथ र सहयोग गरेकोमा धन्यवाद’, उनले भनेका छन्।

होबार्टले एलिमिनेटर खेलमा शुक्रबार एडिलेड स्ट्राइकर्ससँग खेल्नेछ। सन्दीपले यस सिजन १४ खेलमा १४ विकेट लिएका थिए। नेपाल फेब्रुअरी पहिलो साता ओमान जाने छ। विश्वकप छनोट अघि नेपालले सिरिज खेल्ने छ।

अघिल्लो महिना नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारण पदमुक्त गर्दा सन्दीपलाई कप्तानीमा नियुक्त गरेको थियो। नेपालले सन्दीपको कप्तानीमा १६ सदस्य टी२० विश्वकप छनोट खेल्ने टोली घोषणा गरेको छ।