नेपाल भर्सेस थाइल्याण्ड : नतिजा कस्तो आउला? यस्तो छ भारतीय मिडियाको भविष्यवाणाी

Image

काठमाडौं ।

एएफसी एसिया कप–२०२३ को तेस्रो चरण तयारीका लागि फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज बिहीबार नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

नेपाल र थाइल्याण्ड दुबै एएफसी एसिया कप–२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् । सोही प्रतियोगितालाई मध्येनजर गर्दै मैत्रीपूर्ण खेल खेलिन लागेको हो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थाइल्याण्डविरुद्धको खेलले एसियन कपको तेस्रो चरणमा निकै मद्दत पुग्ने बताएका छन् ।

‘यहाँको खेलबाट हामीलाई एसियन कप छनोटको तयारीमा निकै मद्दत पुग्नेछ । नेपाली टोलीको प्रशिक्षण सम्हालेयता थाइल्याण्ड आएको पहिलो पटक हो । र म यहाँको यात्राबाट सन्तुष्ट छु । र, नेपाली टोलीले प्रशिक्षणबाट पनि खुसी छु,’ अब्दुल्लाहले खेल अघि भनेका छन् ।

नेपाल तेस्रो चरणको लागि समूह ए मा छ । जहाँ जोर्डन, आयोजक टिम कुवेत र इन्डोनेसिया छन् ।थाइल्यान्ड भने समूह सी मा छ । जहाँ उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका एकै समूहमा छन् ।

फिफा वरियता र तुलनात्मक रुपमा समेत बलियो देखिएको थाइल्याण्डविरुद्ध नेपाल किरण कुमार लिम्बूको कप्तानीमा मैदान उत्रनेछ । हाल थाईल्यान्ड फिफा वरियताको ११२औं स्थानमा छ भने नेपाल १६७औं स्थानमा छ ।

मुख्य प्रशिक्षक अल्मुताईरीले सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्रका खेलाडीलाई बाहिर राख्दै टिम बनाएका हुन् । मछिन्द्रले २२ चैतमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टारसँग दशरथ रंगशालामा खेल्ने तालिका रहेसँगै उसका आधा दर्जन भन्दा बढि खेलाडी थाईल्यान्ड भ्रमण बाहिर रहेका हुन् ।

स्ट्राईकर विमल घर्ति मगर, मनिष डांगी, सुजल श्रेष्ठ, सुनिल बल, विशाल राई (बी), देवेन्द्र तामाङ, गोलरक्षक विशाल श्रेष्ठ, अभिषेक रिजाल, रेजिन धिमाल लगायत खेलाडी मछिन्द्रसँग अनुबन्ध छन् ।

उनीहरूको अनुपस्थितीमा अब्दुल्लाहले युवा खेलाडी प्रशान्त अवस्थी, सुदिप गुरुङ, आकाश बुढा मगर, नविन गुरुङ र गोलरक्षक टिकेन्द्र थापालाई मौका दिएका हुन् । नेपाली टिममा कप्तान किरण र रोहित चन्द भने क्रमशः माल्दिभ्स र इन्डोनेसियाबाट टिमसँग जोडिसकेका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाहले थाईल्यान्ड प्रस्थान गर्नु अघि युवा टिमबाट सकारात्मक नतिजाको आशा गरेको र सोही अनुसार रणनीति बनाएर खेल्ने बताएका छन् । यससँगै अब्दुल्लाहले नेपाली टोलीका लागि १५औं खेल खेलाउँदै छन् । थाइल्यान्डपछि नेपालले थाई शीर्ष डिभिजनको चोनबुरी एफसीसँग १३ गते खेल्नेछ ।

नेपाल र थाइल्याण्डबीचको मैत्रीपूर्ण खेलको विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि चासो देखाएका छन् । भारतीय मिडियाले पनि नेपाल र थाइल्याण्डबीचको खेलबारे चासो व्यक्त गरेको छ ।

भारतीय चर्चित खेलकुद अनलाइन स्पोर्ट्सकीडाले पनि नेपाल–थाइल्याण्डबीचको खेलबारे समाचार प्रकाशन गरेको छ । उसले थाइल्याण्डविरुद्ध नेपालले उत्कृष्ट खेल्ने आँकलन पनि गरेको छ । यद्यपि, सो अनलाइनलले उत्कृष्ट प्रदर्शनकबा बाबजुद नेपाल थाइल्याण्डसँग ३–० ले पराजित हुनसक्ने भविष्यवाणी पनि गरेको छ ।

थाइल्याण्ड भ्रमणका लागि नेपाली टिम : किरणकुमार लिम्बु (कप्तान/गोलरक्षक), टिकेन्द्र थापा (गोलरक्षक), दीप कार्की (गोलरक्षक), आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द ।