घरेलु मैदानमा पिएनजीविरुद्ध खेल्दै नेपाल, प्लेइङ-११ मा ४ खेलाडी परिवर्तनको सम्भावना

Image

काठमाडौं ।

नेपालले भोलि (शुक्रबार) देखि पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध एकदिवसीय सिरिज खेल्दैछ । दुई म्याचको श्रृंखलाअन्तर्गत पहिलो खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल र पिएनजी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजपछि वानडे प्रारूपकै श्रृंखलामा एकअर्काविरुद्ध खेल्न लागेका हुन् । केही दिनअघि यूएईमा सम्पन्न सो त्रिकोणात्मक सिरिजमा नेपालले दुईमा जित र दुई खेलमा हार बेहोरेको थियो ।

पिएनजीले नेपालविरुद्ध हार्दा यूएईसँगको एक खेलमा भने शानदार जित निकालेको छ । पिएनजीले पछिल्लो केही खेलमा राम्रो प्रदर्शन गरिरहेको छ । उसले यूएईविरुद्ध ७ विकेटको फराकिलो जित निकालेर त्याे कुराकाे प्रमाणित गरेको छ ।

नेपालले भने यूएई भ्रमणमा चित्तबुझ्दो प्रदर्शन गर्न सकेन । यूएईसँगको पहिलो खेलमा सजिलै जित्नसक्ने म्याच ब्याटिङ नचल्दा गुमाएको नेपालले तेस्रो खेलमा पनि सोही गल्ती दोहोर्यायो । घरेलु मैदानमा भने नेपालले यूएईमा गरेका गल्ती दोहोर्याउनुहुन्न ।

शुक्रबार हुने पिएनजीसँगको खेलमा नेपालले यूएई सिरिजको अन्तिम खेलमा मौका दिएको प्लेइङ–११ मा केही परिवर्तन गर्ने सम्भावना छ । सो म्याचमा मौका पाएका विनोद भण्डारी, आसिफ शेख, करण केसीलगायत खेलाडीलाई यसपालि टिममै समावेश गरिएको छैन ।

उनीहरूको अनुपस्थितिमा पिएनजीविरुद्ध केही युवा खेलाडीले मौका पाउने सम्भावना छ । भोलिको खेलमा नेपालले प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गर्न सक्छ । नेपालले विनोद भण्डारी, आसिफ शेख, करण केसी र भिम सार्कीकाे स्थानमा अनिल शाह, देव खनाल र कमलसिंह ऐरीलाई मौका दिन सक्छ । यदि अनिल र देवले मौका पाएमा उनीहरूले शुक्रबार डेब्यू गर्ने छन् ।

पिएनजीविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : देव खनाल, कुशल भर्तुेल, दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह (विकेटकीपर), आरिफ शेख, रोहितकुमार पौडेल, पवन सर्राफ, सोमपाल कामी, विक्रम सोब, सन्दीप लामिछाने (कप्तान) र कमल सिंह ऐरी ।