काठमाडौं ।
थाइल्याण्डसँगको मैत्रीपूर्ण फुटबल म्याचको पहिलो हाफ सकिएको छ । पहिलो हाफ सकिँदा कुनै पनि टिमले गोल गर्न सकेनन् । पहिलो हाफमा नेपालले रक्षात्मक खेल खेल्यो । गोल गर्ने सामान्य अवसर पाएको नेपालले त्यसको सदुपयोग भने गर्न सकेन ।
पहिलो हाफको समाप्तिमा नेपालका पूजन उपरकोटीले एलो कार्ड पाएका छन् । तुलनात्मकरूपमा थाइल्याण्ड नेपालभन्दा बलियो टोली हो । र, खेल भइरहेको चोनबुरी स्टेडियम उसको घरेलु मैदान पनि हो ।
नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सुरुवाती-११ मा किरण चेम्जोङ (कप्तान/गोलरक्षक), अञ्जन विष्ट, पूजन उपरकोटी, अनन्त तामाङ, दिनेश राजवंशी, एरिक विष्ट, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुमन लामा, आयुष घलान र दर्शन गुरुङलाई मौका दिए ।
एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारी स्वरूप नेपाल–थाइल्याण्डले मैत्रीपूर्ण म्याच खेल्न लागेका हुन् ।
हाल फिफा वरियतामा नेपाल १६७ र थाइल्याण्ड ११२ औं स्थानमा छ । उमेर समूह र अन्तर्राष्ट्रिय खेल गरी नेपाल र थाइल्याण्ड आठौंपटक एकअर्काविरुद्ध खेल्न लागेका हुन् । हालसम्म सात म्याचमा नेपालले एक खेलमा मात्र थाइल्याण्डलाई हराउन सकेको छ । बाँकी ६ खेलमा भने नेपालले थाइल्याण्डसँग हार बेहारेको छ ।
सन् २००८ यता नेपाल र थाइल्याण्डले एकअर्काविरुद्ध खेलेका छैनन् । सो वर्ष नेपालले थाइल्याण्डको घरेलु मैदानमा मैत्रीपूर्ण म्याच खेलेको थियो । जहाँ नेपाल थाइल्याण्डविरुद्ध ७–० गोल अन्त्रले पराजित हुन पुग्यो ।त्यस्तै, सन् १९९८ र १९८२ गरी थाइल्याण्डविरुद्ध नेपाल क्रमशः ३–१ र २–० गोल अन्तरले पराजित हुन पुग्यो ।
२ दशकअघि र अहिले नेपाल र थाइल्याण्डको फुटबल खेल्ने शैलीमा धेरै परिवर्तन आएको छ । वरियतामा निकै माथि रहे पनि आधुनिक फुटबलमा कमजोर टोलीले पनि बलिष्यो टिमलाई हराएको उदाहरण प्रशस्त छन् । त्यसकारण वरियतामा माथि रहेको भन्दैमा नेपालले थाइल्याण्डविरुद्ध आत्मविश्वास मनोबल कम गर्नुहुन्न ।
यद्यपि, थाइल्याण्डविरुद्ध जित निकाल्न नेपाललाई सहज भने पक्कै छैन । पछिल्लो ८ खेलमा अपराजित रहेको थाइल्याण्डले केही वर्षयता साउथ इस्ट एसिया फुबटलको बादशाहका रूपमा चिनाइसकेको छ । भियतनाम, सिङ्गापुर र इण्डोनेसिया जस्ता उच्चस्तरीय राष्ट्रलाई पराजित गर्दै थाइल्याण्डले सन् २०२०/२१ को एएफएफ उपाधि पनि हात पारिसकेको छ ।