घरेलु मैदानमा पिएनजीविरुद्ध खेल्नुअघि सन्दीप खुसी, युवा खेलाडीको गरे प्रशंसा

Image

काठमाडौं ।

नेपालले घरेलु मैदानमा भोलिदेखि पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध दुई खेलको एकदिवसीय सिरिज खेल्दैछ । पहिलो एकदिवसीय खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । खेलअघि नेपालका प्रशिक्षक पुबुदु दसानायकेले सिरिज आयोजनामा गरेकोमा धन्यवाद दिए ।

नेपाल र पिएनजी आईसीसी विश्वकप लिग-२ अन्तर्गतको सिरिजपछि वानडे प्रारूपकै श्रृंखलामा एकअर्काविरुद्ध खेल्न लागेका हुन् । केही दिनअघि यूएईमा सम्पन्न सो त्रिकोणात्मक सिरिजमा नेपालले दुईमा जित र दुई खेलमा हार बेहोरेको थियो ।

नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले आगामी विश्वकप लिग–२ अन्तर्गत हुने सिरिजका लागि पिएनजीसँगको खेलले सहयोग पुग्ने बताए । ‘हामीले आगामी जुनमा अमेरिकासँग आईसीसी क्रिकेट विश्वकप लिग-२ को खेल खेल्दैछौं । त्यसका लागि यो सिरिजले सहयोग गर्नेछ,’ उनले भने, ‘अहिले नेपाली टिम बिल्डिङको चरणमा छ ।’

नेपालका कप्तान सन्दीप लामिछानेले पपुवा न्यूगिनीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । साथै, उनले नेपाली टिमा युवा खेलाडी आइरहेको भन्दै खुसी व्यक्त गरे । उनले पिएनजीविरुद्ध यूएई सिरिजमा गरेका गल्ती सुधार गर्दै खेल्ने पनि बताए ।

‘सर्वप्रथम त पिएनजीको टोलीलाई हार्दिक स्वागत छ, हामी भोलिदेखि सुरु हुने सिरिजमा यूएई भ्रमणमा गरेका गल्ती सुधार गर्दै खेल्नेछौं । टिममा युवा खेलाडी जोडिएका छन्, खुसी लागेको छ,’ सन्दीपले भने । नेपालले पपुवा न्युगिनीविरुद्धको दोस्रो खेल शनिबार खेल्नेछ । त्यसपछि एक दिनको विश्रामपछि नेपाल, मलेसिया र पपुवा न्युगिनीबीचको टी-२० सिरिज हुनेछ ।