काठमाडौं ।
थाइल्याण्डसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । बिहीबार चोनबुरी स्टेडियममा भएको खेलमा थाइल्याण्डविरुद्ध नेपाल २–० गोल अन्तरले पराजित भएको हो । ७७ मिनेटसम्म खेल गोलरहित बराबरीको अवस्थामा थियो ।
तर, ७८ औं मिनेटमा फिलिप रोलरले गोल गर्दै थाइल्याण्डलाई १–० को अग्रता दिलाए । थाइल्याण्डले पहिलो गोल गर्ने बेला नेपाली खेलाडी घाइते भएका थिए । तर, रेफ्रीले खेल रोकेनन् । अन्ततः थाइल्याण्डका रोलरले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
रेफ्रीको उक्त निर्णयप्रति नेपाली कोच अब्दुल्लाह अल्मुताइरीले खुलेरै असन्तुष्टि पोखे । साथै, मैदानमा केहीबेर नेपाली खेलाडी पनि थाइ खेलाडसँग चर्काचर्कीमा उत्रिए । अन्ततः केही मिनेटमा चर्काचार्की रोकियो । र, खेल अगाडि बढ्यो ।
त्यसपछि ८९ औं मिनेटमा चाओवत वीरचटले गोल गर्दै थाइल्याण्डलाई २–० को जित दिलाए । खेल अवधिभर नेपालले खासै गोलको मौका सिर्जना गर्न सकेन । हालसम्म अन्तर्राष्ट्रिय फुबटलमा नेपालले थाइल्याण्डलाई हराउन सकेको छैन ।
यदि आज उसलाई हराउन सकेको भए नेपालले इतिहास रच्ने थियो । तर, यसपालि पनि नेपाल सो उपलब्धि हासिल गर्न चुक्यो । यद्यपि विगतभन्दा यसपालि नेपालले थाइल्याण्डविरुद्ध कम गोल अन्तरले भने हार बेहोर्यो ।
यसअघि अन्तिमपटक २००८ मा थाइल्याण्डविरुद्ध नेपाल ७–० गोल अन्तरले पराजित भएको थियो । हाल फिफा वरियतामा नेपाल १६७ र थाइल्याण्ड ११२ औं स्थानमा छ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारी स्वरूप नेपाल–थाइल्याण्डले मैत्रीपूर्ण म्याच खेल्न लागेका हुन् । नेपालले अब १३ गते थाइल्याण्डको शीर्ष डिभिजनको चोनबुरी एफसीसँग खेल्नेछ ।
















