काठमाडौं ।
थाइल्याण्डसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको छ । बिहीबार चोनबुरी स्टेडियममा भएको खेलमा दोस्रो हाफको अन्तिममा चुक्दा नेपाल घरेलु टोलीसँग पराजित हुन पुगेको हो । ७७ मिनेटसम्म नेपालले थाइल्याण्डलाई गोल गर्न दिएको थिएन ।
तर, ७८ औं मिनेटमा फिलिप रोलरले गोल गर्दै थाइल्याण्डलाई १-० को अग्रता दिलाए । त्यसपछि ८९ औं मिनेटमा चाओवत वीरचटले गोल गर्दै थाइल्याण्डलाई २-० को जित दिलाए । खेल अवधिभर नेपालले खासै गोलको मौका सिर्जना गर्न सकेन । हालसम्म अन्तर्राष्ट्रिय फुबटलमा नेपालले थाइल्याण्डलाई हराउन सकेको छैन ।
यदि आज उसलाई हराउन सकेको भए नेपालले इतिहास रच्ने थियो । तर, यसपालि पनि नेपाल सो उपलब्धि हासिल गर्न चुक्यो । यद्यपि विगतभन्दा यसपालि नेपालले थाइल्याण्डविरुद्ध कम गोल अन्तरले भने हार बेहोर्यो ।
यसअघि अन्तिमपटक २००८ मा थाइल्याण्डविरुद्ध नेपाल ७-० गोल अन्तरले पराजित भएको थियो । हाल फिफा वरियतामा नेपाल १६७ र थाइल्याण्ड ११२ औं स्थानमा छ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारी स्वरूप नेपाल-थाइल्याण्डले मैत्रीपूर्ण म्याच खेल्न लागेका हुन् । नेपालले अब १३ गते थाइल्याण्डको शीर्ष डिभिजनको चोनबुरी एफसीसँग खेल्नेछ ।
थाइल्याण्डसँगको खेलपछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीको प्रदर्शनप्रति सन्तुष्ट रहेको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले थाइल्याण्डविरुद्धको खेल नेपालले उत्कृष्ट खेलेको बताएका हुन् ।
साथै, उनले नेपाली टिमप्रति पनि गर्व रहेको उल्लेख गरेका छन् । ‘नेपाली राष्ट्रिय टोलीप्रति धेरै गर्व छ, प्रदर्शन उत्कृष्ट थियो हामीले सक्दो गरिरहेका छौं । हामीलाई समर्थन र माया गर्नुभएकोमा सबैलाई धन्यवाद,’ अल्मुताइरीले भनेका छन् ।















