काठमाडौं ।
राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी १३ महिनापछि फुटबलमा पूनरागमन गरेकी छिन् । चितवनको भरतपुरमा बिहीबार सुरु भएको राष्ट्रिय महिला लिगमा त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध खेल्दै सावित्राले पुनरागमन गरेकी हुन् । उनी ६० औं मिनेटमा रविना गोलेको स्थानमा मैदान प्रवेश गरेकी थिइन्।
‘सुरुको ५ मिनेट अलि आत्तिएको थिएँ । डर लागेको थियो । पहिलो पटक बल छुँदा डर लागेको थियो’, सावित्राले खेलपछि भनिन्,‘ त्यसपछि बिस्तारै सक्छु भन्ने लाग्यो । कम्फरटेबल फिल गर्दै गए ।’
लामो समयको पूनरागमनपछि पनि आफू पूरानै अवस्थामा फर्कन सक्छु भन्ने महसुस भएको उनले बताइन् । ‘पहिला जस्तो जुधेर खेलिन । बचेर खेलेको छ,’ उनले भनिन्, ‘पुरानै अवस्थामा फर्कन समय लाग्छ । आजको खेलले मनोबल उच्च भएको छ ।’
सावित्राको पूनरागमनमा टोलीका प्रशिक्षक जनक सिंह पनि खुसी छन् । ‘सावित्राले राम्रो खेलिन् । पुरानै लयमा फर्कने केहि सयम त लाग्छ नै, उनले भने,‘ उनको पूनरागमनबाट हामी खुसी छौं ।’
सावित्राले टोलीको प्रदर्शनमा पनि खुसी व्यक्त गरिन् । ‘सुरुको १० मिनेट हामी केहि दबाबमा थियौं । दबाबका बीचमा पनि खेलमा फर्कन्छौं भन्ने विश्वास थियो । पछि राम्रो खेल्यौ र जित्यौं,’ कतारमा घुँडाको शल्यक्रियापछिको रिह्याब सकेर झण्डै डेढ महिना अघि स्वदेश फर्केकी सावित्राले भनिन् । त्यसयता उनी लगातार एपिएफको प्रशिक्षणमा सामेल भइरहेकी छिन् ।
राष्ट्रिय लिग खेल्ने क्रममा गत वर्ष फागुन ३ गते उनको घुँडामा चोट लागेको थियो । झन्डै ८ वर्षे खेल जीवनमा सावित्राले पहिलो पटक गम्भिर खालको चोटबाट गुज्रनु परेको थियो । सावित्राको नाममा राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोलको कीर्तिमान छ । सावित्रा नेपालको मात्र नभई दक्षिण एसियाकै उत्कृष्ट फरवार्डमा परिचित छिन् ।
नेपाली फुटबलमा एपिएफले वर्चस्व जमाउँदा उनले इन्डियन लिग (आई लिग) दुई फरक क्लबबाट खेलेकी छिन् । दुवैपटक उनी खेलेको टोली आइ लिग च्याम्पियन बनेको थियो । गत वर्ष गोकुलमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनी आइ लिगको सर्वाधिक गोलकर्ता पनि बनेकी थिइन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा सावित्रा दशककी उत्कृष्ट महिला खेलाडी अवार्डबाट सम्मानित भएकी थिइन् । अवार्ड सकिएलगत्तै उनी टोलीमा सामेल हुन चितवन गएकी थिइन् ।