पिएनजीविरुद्ध आज नेपाललाई इतिहास रच्ने मौका, दुई खेलाडीले डेब्यू गर्ने सम्भावना उच्च

Image

काठमाडौं ।

नेपालले आज एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध खेल्दैछ । खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले घरेलु मैदानमा पहिलोपटक पिएनजीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

नेपाललाई आज घरेलु मैदानमा खेलिएको पहिलो म्याचमै पिएनजीविरुद्ध इतिहास रच्ने अवसर छ । पिएनजीलाई पनि नेपाललाई हराउँदै बदला लिने मौका छ । नेपाल र पिएनजी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजपछि वानडे प्रारूपकै श्रृंखलामा एकअर्काविरुद्ध खेल्न लागेका हुन् ।

केही दिनअघि यूएईमा सम्पन्न सो त्रिकोणात्मक सिरिजमा नेपालले दुईमा जित र दुई खेलमा हार बेहोरेको थियो । पिएनजीले नेपालविरुद्ध हार्दा यूएईसँगको एक खेलमा भने शानदार जित निकालेको छ । पिएनजीले पछिल्लो केही खेलमा राम्रो प्रदर्शन गरिरहेको छ । उसले यूएईविरुद्ध ७ विकेटको फराकिलो जित निकालेर त्यो कुराको प्रमाणित गरेको छ ।

नेपालले भने यूएई भ्रमणमा चित्तबुझ्दो प्रदर्शन गर्न सकेन । यूएईसँगको पहिलो खेलमा सजिलै जित्नसक्ने म्याच ब्याटिङ नचल्दा गुमाएको नेपालले तेस्रो खेलमा पनि सोही गल्ती दोहोर्यायो । घरेलु मैदानमा भने नेपालले यूएईमा गरेका गल्ती दोहोर्याउनुहुन्न ।

शुक्रबार हुने पिएनजीसँगको खेलमा नेपालले यूएई सिरिजको अन्तिम खेलमा मौका दिएको प्लेइङ–११ मा केही परिवर्तन गर्ने सम्भावना छ । सो म्याचमा मौका पाएका विनोद भण्डारी, आसिफ शेख, करण केसीलगायत खेलाडीलाई यसपालि टिममै समावेश गरिएको छैन ।

उनीहरूको अनुपस्थितिमा पिएनजीविरुद्ध केही युवा खेलाडीले मौका पाउने सम्भावना छ । आजको खेलमा विकेटकीपर/ब्याटर अनिल शाह र देव खनालले डेब्यू गर्न सक्छन् । टिममा विनोद र आसिफ नहुँदा विकेटकीपरको विकल्प अनिल मात्र छन् । जसकारण उनले डेब्यू गर्ने पक्का जस्तै छ । साथै, ओपनिङमा पनि कुशल भुर्तेललाई देवले साथ दिने समवान बढी छ ।

पिएनजीविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : देव खनाल, कुशल भर्तुेल, दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह (विकेटकीपर), आरिफ शेख, रोहितकुमार पौडेल, पवन सर्राफ, सोमपाल कामी, विक्रम सोब, सन्दीप लामिछाने (कप्तान) र कमल सिंह ऐरी ।