काठमाडौं ।
फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा घरेलु टोली ब्राजिल विजयी भएको छ । ब्राजिलले आज बिहान सम्पन्न खेलमा चिलीमाथि ४–० को शानदार जित हात पारेको हो ।
माराकान स्टेडियममा खेलको ४४ औं मिनेटमा नेयमारको पेनाल्टी गोलमार्फत ब्राजिलले अग्रता लिएको थियो । पहिलो हाफको थप गरिएको समयमा भिनिसियस जुनियरले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
७२ औं मिनेटमा फिलिपे कौटिन्होले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई ३–० ले अघि बढाए । ९० औं मिनेटमा रिचार्लीसनले गोल गर्दै घरेलु टोलीलाई ४–० को शानदार जित दिलाए ।
यो नतिजासँगै विश्वकपका स्थान पक्का गरिसकेको ब्राजिलले १६ खेलमा ४२ अंक जोड्दै शीर्ष स्थानमा रहँदा पराजित चिलीको १७ खेलबाट १९ अंक छ । सातौं स्थानमा रहेको चिलीको विश्वकपमा छनोट हुने सम्भावना कमजोर बनेको छ ।
छनोटका अन्य खेलमा कोलम्बियाले बोलिभियामाथि ४–०,उरूग्वेले पेरुमाथि १–० र पाराग्वेले इक्वेडरमाथि ३–१ को जित हात पारे ।