रेफ्रीमाथि हातापातको प्रयास गर्ने प्रशिक्षकलाई कडा कारबाही

Image

काठमाडौं ।

‘बी’ डिभिजन क्लब श्री भगवति क्लबका प्रशिक्षक अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेका छन् । भगवतिका प्रशिक्षक शैलेश कर्माचार्य तीन खेलको प्रतिबन्धका साथै ५० हजार रुपैयाँ जारिवानामा परेका हुन् ।

सहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी क्लबविरुद्धको खेल सकिएलगत्तै उनले रेफ्री सुमन श्रेष्ठमाथि हातपातको प्रयास गरेका थिए । लगत्तै सुरक्षाकर्मीले उनलाई रोकेका थिए ।

खेलमा भवगतिलाई बाँसबारीले २–१ गोलले पराजित गरेको थियो । एन्फाले क्लबका अफिसियलहरू दीपेन्द्र डंगोल, राजाराम श्रेष्ठ र विक्रम डंगोललाई जारी ‘बी’ डिभिजन लिगको बाँकी खेलका लागि प्रतिबन्ध लगाएको थियो ।

उनीहरुले खेलका दौरान रेफ्रीसहित सुरक्षाकर्मीलाई अभद्र व्यवहार गरेका थिए । एन्फा सचिवालयले बाँकी निर्णय गर्नका लागि अनुशासन समितिलाई सिफारिस समेत गरेको छ ।

जारी बी डिभिजन लिगमा ८ खेल खेलेको चर्च ब्वाइज १७ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको नयाँ बस्तीको १३ अंक छ भने एक खेल कम खेलको तेस्रो स्थानको भगवतिको पनि १३ अंक नै छ । लिगबाट शीर्ष २ क्लब ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन् ।