पिएनजीविरुद्ध बलिङ गर्दै नेपाल, यी खेलाडीले पाए प्लेइङ-११ मा मौका

Image

काठमाडौं ।

पपुवा न्यूगिनीसँगको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ । नेपालका लागि आज युवा ब्याटर देव खनालले डेब्यू गर्दै छन् ।

उनलाई कप्तान सन्दीप लामिछानेले डेब्यू क्याप दिए । त्रिवि मैदानमा नेपाल र पिएनजीपहिलोपटक एकअर्काविरुद्ध खेल्न लागेका हुन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पिएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ ।

असद भालाको कप्तानीमा रहेको पिएनजी पनि घरेलु टोलीलाई स्तब्ध पार्ने सोचमा हुनेछ । दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी–२० सिरिजका लागि पिएनजी नेपाल भ्रमणमा आएको हो । एकदिवसीय सिरिजको दोस्रो खेल शनिबार हुनेछ ।

युएईमा सम्पन्न आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर पिएनजी नेपाल आएको हो । उक्त सिरिजको दुवै खेलमा नेपालले खेलमा पिएनजीलाई हराएको थियो । नेपाल पहिलो खेलमा २ तथा दोस्रो खेलमा ७ विकेटले विजयी थियो ।

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, देव खनाल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, अनिल साह (विकेटकिपर), सोमपाल कामी, कमलसिंह ऐरी, सन्दीप लामिछाने र पवन सरार्फ ।