पिएनजीका कप्तानले गरे चौकाको वर्षा, आज पनि बाउ सन्दीपको बलमा आउट

Image

काठमाडौं ।

एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत अहिले कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पपुवा न्यूगिनी खेल्दै छन् । पहिलो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ । २७ ओभरको खेल सकिँदा नेपालले चौथो विकेट प्राप्त गरेको छ ।

चौथो विकेट कप्तान सन्दीप लामिछानेले लिए । उनले सेसे बाउलाई शून्यमै आउट गरे । सन्दीपले सेसेलाई यूएई भ्रमणमा पनि आउट गरेका थिए ।

तेस्रो विकेट दीपेन्द्रसिंह ऐरीले दिलाएका थिए । उनले पिएनजीका कप्तान असद भालालाई आउट गर्दै टिमलाई महत्वपूर्ण सफलता दिलाए । भालाले ५५ बलमा ११ चौकाको मद्दतमा ६० रनको आक्रामक पारी खेले ।

त्रिवि मैदानमा पहिलोपटक नेपालविरुद्ध खेल्न लागेको भए पनि पिएनजी ब्याटरले राम्रो ब्याटिङ गरिरहेका हुन् । पहिलो विकेटको रूपमा हिरी हिरीलाई ४ रनमै गुमाए पनि पिएनजीको रनगति रोकिएन । यो समाचार तयार पार्दासम्म पिएनजीले २८ ओभरमा ४ विकेट गुमाएर १४७ रन बनाएको छ ।

पिएनजीको पहिलो विकेट सोमपाल कामीले लिएका थिए । दोस्रो विकेट लिने क्रममा दीपेन्द्रले टोनी उरालाई ३८ रनमा पवेलिएनको दिशा देखाए । यसका बाबजुद पिएनजीका कप्तान असद भाला र चार्ल्स अमिनीले राम्रो ब्याटिङ गरे । नेपाल र पिएनजीबीचको दोस्रो एकदिवसीय खेल भोलि हुनेछ ।