काठमाडौं ।
एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा पाहुना टोली पपुवा न्यूगिनी (पिएनजी)ले नेपाललाई २९३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनायो ।
एकदिवसीय क्रिकेटमा पिएनजीले नेपाललाई दिएको यो हालसम्मकै विशाल लक्ष्य हो । सिरिजको पहिलो खेलमा चार्ल्स अमिनी र कप्तान असद भालाले अर्धशतकीय पारी खेले । चार्ल्सले १०३ बलमा ६ चौका र एक छक्कासहित ७७ रनको योगदान दिए । एकदिवसीय क्रिकेटमा उनको यो उच्च स्कोर हो ।
कप्तान भालाले ५५ बलमा ११ चौकासहित ६० रन बनाए । टोनी उरा ३८, रिले हकुरे ३१ रनमा आउट भए । नर्मन भानुले २८ बलमा तीन छक्का र चार चौकासहित ४७ रनको पारी खेले ।
बलिङमा सोमपाल कामीले २ विकेट लिए । तर, उनी निकै महँगा सावित भए । सोमपालले १० ओभरमा २ विकेट लिँदा ८१ रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले भने १० ओभरमा एक मेडनसहित ३० रन मात्र दिए ।
कप्तान सन्दीप लामिछाने पनि आज महँगा सावित भए । उनले १० ओभरमा १ विकेट लिएर ६२ रन खर्चिन पुगे । पवन सर्राफ र कमलसिंह ऐरीको नाममा एक–एक विकेट रह्यो ।