काठमाडौं ।
पपुवा न्यूगिनी (पिएनजी)ले दिएको २९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पाँचौं विकेट गुमाएको छ । पाँचौं विकेटको रूपमा नेपालले आरिफ शेखलाई गुमाएको हो । उनी ३४ रनमा आउट भएका हुन् । आरिफलाई पिएनजीका कप्तान असद भालाले आउट गरे ।
आरिफले रोहितकुमार पौडेललाई राम्रो साथ दिइरहेका थिए । यो जोडीबीच शतकीय साझेदारी भइसकेको थियो । नेपालले आरिफसहित कुशल भुर्तेल (३२), अनिल साह (६), देव खनाल (०) र दीपेन्द्रसिंह ऐरी (१५) लाई पनि गुमाइसकेको छ । यो समाचार तयार पार्दासम्म नेपालले ३६ ओभरमा ५ विकेट गुमाएर १७९ रन बनाएको छ ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनायो । एकदिवसीय क्रिकेटमा पिएनजीले नेपाललाई दिएको यो हालसम्मकै विशाल लक्ष्य हो । सिरिजको पहिलो खेलमा चार्ल्स अमिनी र कप्तान असद भालाले अर्धशतकीय पारी खेले । चार्ल्सले १०३ बलमा ६ चौका र एक छक्कासहित ७७ रनको योगदान दिए । एकदिवसीय क्रिकेटमा उनको यो उच्च स्कोर हो ।
कप्तान भालाले ५५ बलमा ११ चौकासहित ६० रन बनाए । टोनी उरा ३८, रिले हकुरे ३१ रनमा आउट भए । नर्मन भानुले २८ बलमा तीन छक्का र चार चौकासहित ४७ रनको पारी खेले ।
बलिङमा सोमपाल कामीले २ विकेट लिए । तर, उनी निकै महँगा सावित भए । सोमपालले १० ओभरमा २ विकेट लिँदा ८१ रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले भने १० ओभरमा एक मेडनसहित ३० रन मात्र दिए ।
कप्तान सन्दीप लामिछाने पनि आज महँगा सावित भए । उनले १० ओभरमा १ विकेट लिएर ६२ रन खर्चिन पुगे । पवन सर्राफ र कमलसिंह ऐरीको नाममा एक/एक विकेट रह्यो ।