काठमाडौं ।
पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाली युवा ब्याटर रोहितकुमार पौडेलले शतक पूरा गरेका छन् । उनले ९१ बलमा सात चौका र दुई छक्काको मद्दतमा शतक पूरा गरेका हुन् । एकदिवसीय क्रिकेटमा रोहितको यो पहिलो शतक हो ।
योसँगै उनी नेपालको तर्फबाट कम उमेरमा एकदिवसीय क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । रोहितले १९ वर्ष २०४ दिनमा शतक बनाएका हुन् । साथै, उनी वानडेमा शतक बनाउने दोस्रो ब्याटर पनि बनेका छन् । यसअघि यो प्रारूपमा पूर्वकप्तान पारस खड्काले शतक बनाइसकेका छन् ।
पिएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४० ओभरमा ५ विकेट गुमाएर २०७ रन बनाएको छ । त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनायो ।
एकदिवसीय क्रिकेटमा पिएनजीले नेपाललाई दिएको यो हालसम्मकै विशाल लक्ष्य हो । सिरिजको पहिलो खेलमा चार्ल्स अमिनी र कप्तान असद भालाले अर्धशतकीय पारी खेले । चार्ल्सले १०३ बलमा ६ चौका र एक छक्कासहित ७७ रनको योगदान दिए । एकदिवसीय क्रिकेटमा उनको यो उच्च स्कोर हो ।
कप्तान भालाले ५५ बलमा ११ चौकासहित ६० रन बनाए । टोनी उरा ३८, रिले हकुरे ३१ रनमा आउट भए । नर्मन भानुले २८ बलमा तीन छक्का र चार चौकासहित ४७ रनको पारी खेले ।
बलिङमा सोमपाल कामीले २ विकेट लिए । तर, उनी निकै महँगा सावित भए । सोमपालले १० ओभरमा २ विकेट लिँदा ८१ रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले भने १० ओभरमा एक मेडनसहित ३० रन मात्र दिए ।
कप्तान सन्दीप लामिछाने पनि आज महँगा सावित भए । उनले १० ओभरमा १ विकेट लिएर ६२ रन खर्चिन पुगे । पवन सर्राफ र कमलसिंह ऐरीको नाममा एक/एक विकेट रह्यो ।
















