रोहितले तोडे पारसको नाममा रहेको ठूलो कीर्तिमान

Image

काठमाडौं ।

नेपाली क्रिकेट टिमका युवा ब्याटर रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास रचेका छन् । उनले यो प्रारूपमा नेपालको तर्फबाट उच्च स्कोर (११९ अविजित) बनाउँदै इतिहास रचेका हुन् । रोहितले यो उपलब्धि पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा हासिल गरे ।

योसँगै उनले पूर्वकप्तान पारस खड्काको ठूलो कीर्तिमान भंग गरेका छन् । यसअघि वानडेमा नेपालको तर्फबाट उच्च पारी खेल्ने रेकर्ड पारसको नाममा थियो । वानडेमा उनको उच्च स्कोर ११५ रन थियो । अब पारसको रेकर्ड रोहितले तोडेका छन् ।

पिएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४३.४ ओभरमा ७ विकेट गुमाएर २४२ रन बनाएको छ । त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनायो ।

एकदिवसीय क्रिकेटमा पिएनजीले नेपाललाई दिएको यो हालसम्मकै विशाल लक्ष्य हो । सिरिजको पहिलो खेलमा चार्ल्स अमिनी र कप्तान असद भालाले अर्धशतकीय पारी खेले । चार्ल्सले १०३ बलमा ६ चौका र एक छक्कासहित ७७ रनको योगदान दिए । एकदिवसीय क्रिकेटमा उनको यो उच्च स्कोर हो ।

कप्तान भालाले ५५ बलमा ११ चौकासहित ६० रन बनाए । टोनी उरा ३८, रिले हकुरे ३१ रनमा आउट भए । नर्मन भानुले २८ बलमा तीन छक्का र चार चौकासहित ४७ रनको पारी खेले ।

बलिङमा सोमपाल कामीले २ विकेट लिए । तर, उनी निकै महँगा सावित भए । सोमपालले १० ओभरमा २ विकेट लिँदा ८१ रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले भने १० ओभरमा एक मेडनसहित ३० रन मात्र दिए ।

कप्तान सन्दीप लामिछाने पनि आज महँगा सावित भए । उनले १० ओभरमा १ विकेट लिएर ६२ रन खर्चिन पुगे । पवन सर्राफ र कमलसिंह ऐरीको नाममा एक/एक विकेट रह्यो ।