फिनिसिङमा चुक्दा पिएनजीसँग नेपाल पराजित, रोहितको ऐतिहासिक प्रदर्शन

Image

काठमाडौं ।

पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाल ६ रनले पराजित भएको छ । योसँगै दुई खेलको सिरिजमा नेपाल १–० ले पछि परेको छ । शुक्रबार भएको श्रृंखलाको पहिलो खेलमा पिएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रोहितकुमार पौडेलले शतकीय पारी खेले । उनले १०७ बलमा चार छक्का र सात चौकासहित १२६ रन बनाए । योसँगै रोहित एकदिवसीय क्रिकेटमा नेपालकोतर्फबाट उच्च पारी खेल्ने पहिलो ब्याटर बनेका छन् ।

साथै, उनी यो प्रारूपमा सर्वाधिक रन बनाउने नेपाली ब्याटर पनि बनेका छन् । रोहितले हालसम्म १६ खेलमा ५८८ रन बनाएका छन् । त्यस्तै, पिएनजीविरुद्ध आरिफ शेख ३४, कुशल भुर्तेल ३२, भीम सार्की १७, दीपेन्द्रसिंह ऐरी १५, अनिल साह ६, पवन सर्राफ ७ र देव खनाल शून्यमा आउट भए ।

नेपाल आज फिनिसिङमा चुक्यो । अन्तिम ओभरमा जितको लागि १० रनको आवश्यकता थियो । तर, यो ओभरमा नेपालले ३ रनमा मात्र बनाउन सक्यो । कमलसिंह ऐरी र सोमपाल कामी १८–१८ रनमा अविजित रहे पनि नेपाल जित निकाल्न भने असफल भयो ।

पिएनजीविरुद्ध नेपाल पहिलोपटक एकदिवसीय क्रिकेटमा पराजित भएको हो । पिएनजीका नर्मन भानुले तीन, चार्ल्स अमिनी, असद भालाले दुई/दुई र नौसेना पोकनाले एक विकेट लिए ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनायो । एकदिवसीय क्रिकेटमा पिएनजीले नेपाललाई दिएको यो हालसम्मकै विशाल लक्ष्य हो ।

सिरिजको पहिलो खेलमा चार्ल्स अमिनी र कप्तान असद भालाले अर्धशतकीय पारी खेले । चार्ल्सले १०३ बलमा ६ चौका र एक छक्कासहित ७७ रनको योगदान दिए । एकदिवसीय क्रिकेटमा उनको यो उच्च स्कोर हो । कप्तान भालाले ५५ बलमा ११ चौकासहित ६० रन बनाए ।

टोनी उरा ३८, रिले हकुरे ३१ रनमा आउट भए । नर्मन भानुले २८ बलमा तीन छक्का र चार चौकासहित ४७ रनको पारी खेले । बलिङमा सोमपाल कामीले २ विकेट लिए । तर, उनी निकै महँगा सावित भए । सोमपालले १० ओभरमा २ विकेट लिँदा ८१ रन खर्चिए ।

दीपेन्द्रसिंह ऐरीले भने १० ओभरमा एक मेडनसहित ३० रन मात्र दिए । कप्तान सन्दीप लामिछाने पनि आज महँगा सावित भए । उनले १० ओभरमा १ विकेट लिएर ६२ रन खर्चिन पुगे । पवन सर्राफ र कमलसिंह ऐरीको नाममा एक/एक विकेट रह्यो । नेपाल र पिएनजीले सिरिजअन्तर्गत दोस्रो खेल भोलि खेल्ने छन् ।