पहिलोपटक पिएनजीसँग नेपाल हार्नुको कारणहरू

Image

काठमाडौं ।

पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाल ६ रनले पराजित भएको छ । शुक्रबार भएको श्रृंखलाको पहिलो खेलमा पिएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन बनायो ।

नेपालका लागि रोहितकुमार पौडेलले शतकीय पारी खेले । उनले १०७ बलमा चार छक्का र सात चौकासहित १२६ रन बनाए । योसँगै रोहित एकदिवसीय क्रिकेटमा नेपालकोतर्फबाट उच्च पारी खेल्ने पहिलो ब्याटर बनेका छन् । यसअघि वानडेमा उच्च पारी खेल्ने रेकर्ड पूर्वकप्तान पारस खड्काको नाममा थियो । उनले उच्च स्कोर ११५ रन थियो । अब भने पारसको रेकर्ड रोहितले तोडेका छन् ।

साथै, उनी यो प्रारूपमा सर्वाधिक रन बनाउने नेपाली ब्याटर पनि बनेका छन् । रोहितले हालसम्म १६ खेलमा चार अर्धशतक र एक शतकको मद्दतमा ५८८ रन बनाएका छन् । शुक्रबारको खेलमा पाँचौँ विकेटका लागि आरिफ शेख र रोहितले १ सय ४ रनको शतकीय साझेदारी गरे । यो वानडे क्रिकटमा नेपालको कुनै पनि विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी हो ।

पिएनजीविरुद्ध आरिफ ३४, कुशल भुर्तेल ३२, भीम सार्की १७, दीपेन्द्रसिंह ऐरी १५, अनिल साह ६, पवन सर्राफ ७ र देव खनाल शून्यमा आउट भए । कमलसिंह ऐरी र सोमपाल कामी १८/१८ रनमा अविजित रहे । पिएनजीका नर्मन भानुले तीन, चार्ल्स अमिनी, असद भालाले दुई/दुई र नौसेना पोकनाले एक विकेट लिए ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनायो । उसका लागि चार्ल्स अमिनी र कप्तान असद भालाले अर्धशतकीय पारी खेले । चार्ल्सले १०३ बलमा ६ चौका र एक छक्कासहित ७७ रनको योगदान दिए ।

एकदिवसीय क्रिकेटमा उनको यो उच्च स्कोर हो । कप्तान भालाले ५५ बलमा ११ चौकासहित ६० रन बनाए । टोनी उरा ३८, रिले हकुरे ३१ रनमा आउट भए । नर्मन भानुले २८ बलमा तीन छक्का र चार चौकासहित ४७ रनको पारी खेले ।

बलिङमा सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए । यद्यपि उनीहरू महँगा सावित हुन पुगे । सोमपालले १० ओभरमा २ विकेट लिँदा ८१ रन खर्चिए । योसँगै उनले खराब रेकर्ड बनाएका छन् । सोमपालले नेपालको तर्फबाट एकदिवसीय क्रिकेटको एक खेलमा सर्वाधिक रन दिने खराब रेकर्ड बनाएका हुन् । सन्दीप १० ओभरमा १ विकेट लिएर ६२ रन खर्चिन पुगे ।

दीपेन्द्रसिंह ऐरीले भने १० ओभरमा एक मेडनसहित ३० रन मात्र दिए । पवन सर्राफ र कमलसिंह ऐरीको नाममा एक/एक विकेट रह्यो ।

नेपाल हार्नुका केही कारण

समग्रमा शुक्रबार नेपालको ब्याटिङ राम्रो रह्याे । यद्यपि, शीर्षक्रमका ब्याटर भने आज पनि ठूलो पारी खेल्न सकेनन् । कुशलले राम्रो सुरुवात दिलाए । यद्यपि उनले ठूलो पारी खेल्न सकेनन् । त्यस्तै, अनिल साह ६ र देव खनाल शून्यमै आउट हुँदा नेपाली टिम दबाब देखियो । फलस्वरूप नेपाल पराजित हुन पुगे ।

साथै, नेपाल फिनिसिङमा पनि चुक्न पुग्यो । अन्तिम ओभरमा जितको लागि १० रन आवश्यक थियो । तर, यो ओभरमा सोमपाल र कमलले ३ रन मात्र जोड्न सके । साथै, मुख्य बलरले किफायती बलिङ गर्न नसक्दा पनि नेपालले झिनो अन्तरको हार बेहोर्न बाध्य भयो ।

यो हारसँगै नेपाल २ खेलको सिरिजमा १–० ले पछि परेको छ । नेपाल र पिएनजीले सिरिजअन्तर्गत दोस्रो खेल शनिबार हुनेछ ।