पिएनजीविरुद्ध जित नजिक पुग्दा पनि हारेपछि यस्तो भन्छन् सन्दीप

Image

काठमाडौं ।

पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली नेपाल ६ रनले पराजित भएको छ । शुक्रबार भएको श्रृंखलाको पहिलो खेलमा पिएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन बनायो ।

नेपालका लागि रोहितकुमार पौडेलले शानदार पारी खेले । उनले १०७ बलमा चार छक्का र सात चौकासहित १२६ रन बनाए । योसँगै रोहित एकदिवसीय क्रिकेटमा नेपालकोतर्फबाट उच्च पारी खेल्ने पहिलो ब्याटर बनेका छन् । यसअघि वानडेमा उच्च पारी खेल्ने रेकर्ड पूर्वकप्तान पारस खड्काको नाममा थियो । उनले उच्च स्कोर ११५ रन थियो । अब भने पारसको रेकर्ड रोहितले तोडेका छन् ।

साथै, उनी यो प्रारूपमा सर्वाधिक रन बनाउने नेपाली ब्याटर पनि बनेका छन् । रोहितले हालसम्म १६ खेलमा चार अर्धशतक र एक शतकको मद्दतमा ५८८ रन बनाएका छन् । शुक्रबारको खेलमा पाँचौँ विकेटका लागि आरिफ शेख र रोहितले १ सय ४ रनको शतकीय साझेदारी गरे । यो वानडे क्रिकटमा नेपालको कुनै पनि विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी हो ।

पिएनजीविरुद्ध आरिफ ३४, कुशल भुर्तेल ३२, भीम सार्की १७, दीपेन्द्रसिंह ऐरी १५, अनिल साह ६, पवन सर्राफ ७ र देव खनाल शून्यमा आउट भए । कमलसिंह ऐरी र सोमपाल कामी १८–१८ रनमा अविजित रहे । पिएनजीका नर्मन भानुले तीन, चार्ल्स अमिनी, असद भालाले दुई–दुई र नौसेना पोकनाले एक विकेट लिए ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनायो ।

उसका लागि चार्ल्स अमिनी र कप्तान असद भालाले अर्धशतकीय पारी खेले । चार्ल्सले १०३ बलमा ६ चौका र एक छक्कासहित ७७ रनको योगदान दिए । एकदिवसीय क्रिकेटमा उनको यो उच्च स्कोर हो ।

कप्तान भालाले ५५ बलमा ११ चौकासहित ६० रन बनाए । टोनी उरा ३८, रिले हकुरे ३१ रनमा आउट भए । नर्मन भानुले २८ बलमा तीन छक्का र चार चौकासहित ४७ रनको पारी खेले ।

बलिङमा सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए । यद्यपि उनीहरू महँगा सावित हुन पुगे । सोमपालले १० ओभरमा २ विकेट लिँदा ८१ रन खर्चिए । योसँगै उनले खराब रेकर्ड बनाएका छन् ।

सोमपालले नेपालको तर्फबाट एकदिवसीय क्रिकेटको एक खेलमा सर्वाधिक रन दिने खराब रेकर्ड बनाएका हुन् । सन्दीप १० ओभरमा १ विकेट लिएर ६२ रन खर्चिन पुगे । दीपेन्द्रसिंह ऐरीले भने १० ओभरमा एक मेडनसहित ३० रन मात्र दिए । पवन सर्राफ र कमलसिंह ऐरीको नाममा एक/एक विकेट रह्यो ।

हारपछि के भन्छन् सन्दीप?

पिएनजीसँग पहिलो अन्तर्राष्ट्रिय म्याच हारेपछि कप्तान सन्दीप लामिछानेले केही कारण औंल्याएका छन् । उनले आजको खेलमा हारको मुख्य कारण कमजोर फिनिसिङ र बलर किफयती बन्न नसक्नुलाई लिए । यद्यपि, उनले आजको खेलमा केही सकारात्मक कुरा देखिएको बताए ।

‘पिएनजीसँगको खेलमा नेपालले पनि राम्रो ब्याटिङ गर्यो । विशेष गरी रोहित र आरिफको प्रदर्शन उत्कृष्ट रह्यो । उनीहरूको साझेदारी, रोहितको शतकले केही सकारात्मक पक्ष बाहिर देखिएका छन्,’ म्याच सकिएपछि सञ्चारकर्मीसँग सन्दीपले भने, ‘हामीले ३०–४० रन अलि बढी दियौं । जसकारण पनि खेल गुमाउनुपुग्यौं ।’

सन्दीपले रोहितको लयको प्रशंसा गरे । ‘रोहितले पछिल्लो खेलमा राम्रो लय देखिएको छ, लय हेर्दा उनले पक्कै पनि शतक बनाउन सक्छन् भन्ने विश्वास थियो । र, आज उनले त्यो पूरा पनि गरे,’ सन्दीपले भने । साथै, उनले ब्याटरले विकेटको महत्व बुझ्नुपर्नेमा पनि जोड दिए ।