काठमाडौं ।
नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायके युवा ब्याटर रोहित पौडेलको प्रदर्शनले आगामी दिनमा टोलीलाई मद्दत पुग्ने बताएका छन् । रोहितले ठूलो पारी खेल्ने संकेत यूएईमा देखाइसकेको उल्लेख गर्दै उनले खुसीसमेत व्यक्त गरेका छन् ।
‘रोहितको प्रदर्शनमा खुसी छु । उसको शतकको विषयमा हामीले यसअघि पनि कुरा गरेका थियौं । दुबईमा ५० रन हानेपछि शतक हान्छ सक्छ जस्तो लागेको थियो । तर, त्यसो हुन सकेको थिएन,’ प्रशिक्षक दसानायकेले भने, ‘आज सफल भएका छन् । जब ब्याट्सम्यानले शतक प्रहार गर्छन् उसको आत्मविश्वास बढ्छ । टिमलाई पनि फाइदा हुन्छ ।’
रोहितले जिम्मेवारी अनुसारको प्रदर्शन गरेकोमा आफू सन्तुष्ट रहेको पनि प्रशिक्षक दसानायकेले बताए । ‘यस्तो ब्याटिङ भयो भने हामी जुनसुकै एसोएसिएट टिमलाई पराजित गर्न सक्छौं,’ उनले भने ।
रोहित के भन्छन्?
पपुवा न्यूगिनी (पिएनजी) सँगको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपाली युवा ब्याटर रोहितकुमार पौडेलले शानदार पारी खेले । उनले कठिन समयमा १०७ बलमा चार छक्का र सात चौकासहित १२६ रन बनाए ।
शीर्षक्रमका तीन ब्याटर सस्तैमा आउट भएको बेला क्रिजमा उत्रिएका उनले पिएनजीका बलरलाई पूरा नियन्त्रणमा राखे । रोहितले व्यक्तिगत मात्र होइन आरिफ शेखसँग १०४ रनको साझेदारी पनि गरे । रोहितले ऐतिहासिक प्रदर्शन गर्दाका बाबजुद नेपाल भने ६ रनले पराजित हुन पुग्यो ।
आफ्नो शतकीय पारीको बाबजुद टिम झिनो रनले हारेपछि उनले प्रतिक्रिया दिएका छन् । ‘नेपालले जितेको भए अझ राम्रो लाग्थ्यो । अर्कोतर्फ मैले फिनिसिङ गर्न पनि सकिन,’ रोहितले भने । गत साता यूएई भ्रमणका दौरान पनि उनलाई शतक बनाउने अवसर थियो । तर, उनी अर्धशतकमै रोकिएका थिए ।
‘युएई र पिएनजीसँग यसअघि पनि शतक प्रहार गर्ने अवसर थियो । त्यतिबेला सफल भएन । अहिले शतक हाने पनि नेपालले खेल हार्दा मज्जा आएन,’ खेलपछि रोहितले भने, ‘अहिले शतक पूरा भएको खुसी भने लागेको छ ।’
हारपछि के भन्छन् सन्दीप?
पिएनजीसँग पहिलो अन्तर्राष्ट्रिय म्याच हारेपछि कप्तान सन्दीप लामिछानेले केही कारण औंल्याएका छन् । उनले आजको खेलमा हारको मुख्य कारण कमजोर फिनिसिङ र बलर किफयती बन्न नसक्नुलाई लिए । यद्यपि, उनले आजको खेलमा केही सकारात्मक कुरा देखिएको बताए ।
‘पिएनजीसँगको खेलमा नेपालले पनि राम्रो ब्याटिङ गर्यो । विशेष गरी रोहित र आरिफको प्रदर्शन उत्कृष्ट रह्यो । उनीहरूको साझेदारी, रोहितको शतकले केही सकारात्मक पक्ष बाहिर देखिएका छन्,’ म्याच सकिएपछि सञ्चारकर्मीसँग सन्दीपले भने, ‘हामीले ३०/४० रन अलि बढी दियौं । जसकारण पनि खेल गुमाउनुपुग्यौं ।’
सन्दीपले रोहितको लयको प्रशंसा गरे । ‘रोहितले पछिल्लो खेलमा राम्रो लय देखिएको छ, लय हेर्दा उनले पक्कै पनि शतक बनाउन सक्छन् भन्ने विश्वास थियो । र, आज उनले त्यो पूरा पनि गरे,’ सन्दीपले भने । साथै, उनले ब्याटरले विकेटको महत्व बुझ्नुपर्नेमा पनि जोड दिए ।