पिएनजीसँग नेपाल घरेलु मैदानमै पराजित भएपछि के लेखे भारतीय मिडियाले?

Image

काठमाडौं ।

युवा ब्याटर रोहित कुमार पौडेलको शतक प्रेरित नेपाल घरेलु मैदानमा पपुवा न्यूगिनी (पीएनजी) विरुद्धको पहिलो खेलमा ६ रनले पराजित भएको छ । २९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २८६ रन बनाउन सक्यो ।

रोहितले १२६ रनको कीर्तिमानी शतकीय इनिङ्समा खेले पनि नेपाल जितबाट टाढा रह्यो । रोहितको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । यस्तै रोहित एकदिवसीयमा सर्वाधिक रन बनाउने पहिलो नेपाली खेलाडी बने ।

उनले १०७ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै नेपाललाई बलियो स्थितिमा पुर्‍याएका थिए । नेपालका आरिफ शेखले ३४, कुशल भुर्तेलले ३२, सोमपाल कामी र कमल सिंह ऐरीले समान १८ रन बनाउँदा भिम सार्कीले १७ रन बनाए ।

पिएनजीका नोरमान भानुअले ३ विकेट लिए । यस्तै चार्ल्स अमिनी, असद भालाले समान २र२ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनायो ।

पीएनजीका चार्ल्स अमिनीले सर्वाधिक ७७ रनको इनिङ खेले । यस्तै, कप्तान असद भालाले ६० रनको योगदान गरे । ओपनर टोनी उराले ३८ रन बनाउँदा रिले हेकुरेले ३१, नोरमान भानुअले ४७ रन बनाए ।

नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले समान १ विकेट हात पारे । अब नेपालले पीएनजीविरुद्ध भोलि शनिबार नै दोस्रो खेल खेल्नेछ ।

नेपालको हारबारे के लेख्छन् भारतीय मिडिया?

नेपाल र पिएनजीबीचको खेलको बारेमा भारतीय सञ्चारमाध्यमले पनि प्राथमिकता दिएका छन् । उनीहरूले रोहित पौडेलको प्रदर्शनको पनि प्रशंसा पनि गरेका छन् । ‘नेपालको अचम्मको हार, पपुवा न्यूगिनीसँग आफ्नै घरमा पराजित भयो,’ भारतको चर्चित खेलकुद अनलाइन स्पोर्ट्सकीडाले लेखेको छ ।

अन्य मिडियाले रोहितले उत्कृष्ट प्रदर्शन गर्दा पनि अन्यले राम्रो साथ नदिँदा नेपाल पराजित हुन पुगेको पनि उल्लेख गरेका छन् । जी न्यूजले पनि नेपाल र पिएनजीको खेल नतिजाको स्कोरबार्ड आफ्नो साइटमा अपडेट गराएको छ ।

डिएनए इण्डियाले पनि रोहितको उत्कृष्ट प्रदर्शनका बाबजुद नेपाल पराजित भनेर समाचार लेखेको छ । साथै, उसले स्कोरबोर्ड पनि समावेश गरेको छ ।