काठमाडौं ।
एकदिवसीय सिरिजको दोस्रो खेलमा आज पनि नेपाल र पपुवा न्यूगिनी (पिएनजी) खेल्दै छन् । नेपाल र पिएनजीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साढे ९ बजेदेखि सुरु हुनेछ ।
शुक्रबार भएको सिरिजको पहिलो खेलमा नेपाल ६ रनले पराजित भयो । शीर्षक्रमका ब्याटर नचल्दा र फिनिसिङमा चुक्दा नेपाल पराजित हुन पुगेको हो । यद्यपि, सो खेलमा युवा ब्याटर रोहितकुमार पौडेलले १२६ रनको कीर्तिमानी पारी खेले ।
उनले पछिल्लो समय लगातार रन बनाइरहेका छन् । सिरिज जोगाउने हो भने आज पनि रोहितको ब्याट चल्न आवश्यक छ । दोस्रो खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्न सक्छ । आज पवन सर्राफलाई विश्राम दिएर विक्रम सोबले मौका पाउन सक्छन् । पहिलो खेलमा नेपाल ३ बलरको साथ मात्र खेलेको थियो ।
पहिलो खेलमा फ्लप भए पनि अनिल साह र देव खनालले आज पनि मौका पाउने सम्भावना छ । विकेटकीपरको विकल्प नभएकाले पनि अनिलले निरन्तरता पाउने भएका हुन् । साथै, देवको पनि यो दोस्रो खेल हो । जसकारण उनले आज निरन्तरता पाउने सम्भावना छ ।
सिरिजमा जीवित रहन नेपाले आजको खेल जित्नैपर्ने हुन्छ । पिएनजी भने लगातार दोस्रो जित निकाल्दै सिरिज क्लिनस्विप गर्न चाहन्छ । उसले पहिलो खेलमा राम्रो ब्याटिङ गरेको थियो । आज पसिन पिएनजी सोही लय दोहोर्याउन चाहन्छ ।
नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, देव खनाल, अनिल साह (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेल, भीम सार्की, सोमपाल कामी, विक्रम सोब, सन्दीप लामिछाने र कमलसिंह ऐरी ।















