आजदेखि १५ औं सिजनको आईपीएल, पहिलो खेलमा चेन्नई र कोलकाता भिड्दै

Image

काठमाडौं ।

आजदेखि इण्डियन प्रिमियर लिग (आईपीएल) को १५ औं सिजन सुरु हुँदैछ । सिरिजको उद्घाटन खेलमा गत संस्करणको विजेता चेन्नई सुपर किंग्स (सिएसके) र उपविजेता कोलकाता नाइट राइडर्स (केकेआर) खेल्दै छन् । खेल राति ७ः४५ देखि वाङ्खडे स्टेडियममा सुरु हुनेछ ।

दुवै टिम जितको साथ सिजनको सुरुवात गर्न चाहन्छन् । यसपालि चेन्नई र कोलकाताको कप्तानी नयाँ खेलाडीले गर्दै छन् । योपटक चेन्नईको कप्तानी अलराउन्डर रवीन्द्र जडेजाले गर्नेछन् ।

केही दिनअघि मात्र महेन्द्रसिंह धोनीले उनलाई कप्तानी सुम्पेको घोषणा गरेका थिए । कोलकाताको कप्तानी श्रेयस अय्यरले गर्ने छन् । उनी मेगा अक्सनबाट कोलकातामा जोडिएका थिए । गत सिजनमा इयोन मोर्गनले टिमलाई फाइनलमा पुर्याए पनि केकेआरले अक्सनबाट उनलाई अनुबन्ध नै गरेन ।

हालसम्म चेन्नईले चार र कोलकाताले २ पटक आईपीएल उपाधि जितेको छ । कोलकाताले अन्तिमपटक २०१४ मा आईपीएल उपाधि हात पारेको थियो । त्यसयता ऊ एकपटक मात्र फाइनलमा पुग्न सकेको छ । यसपालि टिमका केही महत्वपूर्ण खेलाडी जोडिएकाले कोलकातालाई पनि उपाधि दावेदारको रूपमा हेरिएको छ ।

चेन्नईको सम्भावित प्लेइङ–११ : ऋतुराज गायकवाड, रोबिन उथप्पा, डेभन कन्वे, अम्बाती रायडू, रवीन्द्र जडेजा (कप्तान), शिवम दुबे, महेन्द्रसिंह धोनी (विकेटकीपर), ड्वेन ब्राभो, राजवर्धन हङ्गारगेकर, क्रिस जोर्डन/महेश थिक्क्षणा र एडम मिल्ने ।

कोलकाताको सम्भावित प्लेइङ–११ : वैंकटेश अय्यर, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), नितिश राणा, साम बिलिङ्स (विकेटकीपर), आन्द्रे रसेल, सुनिल नारायण, चमिका करुणारत्ने, शिवम मावि, वरुण चक्रवर्ती र उमेश यादव/रसिक सलाम दार ।