पिएनजीविरुद्ध देवको उत्कृष्ट ब्याटिङ, छक्का हिर्काउँदै पूरा गरे अर्धशतक

Image

काठमाडौं ।

पपुवा न्यूगिनीविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाली टिमका युवा ब्याटर देव खनालले अर्धशतक पूरा गरेका छन् । उनले ७२ बलमा तीन छक्का र दुई चौकासहित अर्धशतक पूरा गरेका हुन् ।

शुक्रबार डेब्यूमा शून्मयै आउट भए पनि देवले शानदार कमब्याक गरेका छन् । उनले आज छक्का हिर्काउँदै अर्धशतक पूरा गरे । कुशल भुर्तेल शून्यमै आउट भएको बेला क्रिजमा आएका देउवले राम्रो ब्याटिङ गरिरहेका छन् ।

निकै खराब सुरुवात गरेको नेपालको पाररीलाई उनी र दीपेन्द्रसिंह ऐरीले सम्हालिरहेका छन् । टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली नेपालले यो समाचार तयार पार्दासम्म २५ ओभरमा २ विकेट गुमाएर १०४ रन बनाएको छ । नेपालले कुशललाई पहिलो बलमै गुमाउन पुग्यो । उनी अलि नाओको बलमा शून्यमै आउट भए ।

त्यसपछिलगत्तै अनिल साह पनि १ रनमै आउट भए । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । नेपालले प्लेइङ–११ मा आज एक खेलाडी परिवर्तन गरेको छ । आज नेपालले कमलसिंह ऐरीलाई विश्राम दिएर गुल्शनकुमार झालाई मौका दिएको छ ।

शुक्रबार भएको सिरिजको पहिलो खेलमा नेपाल ६ रनले पराजित भयो । शीर्षक्रमका ब्याटर नचल्दा र फिनिसिङमा चुक्दा नेपाल पराजित हुन पुगेको हो । यद्यपि, सो खेलमा युवा ब्याटर रोहितकुमार पौडेलले १२६ रनको कीर्तिमानी पारी खेले ।

उनले पछिल्लो समय लगातार रन बनाइरहेका छन् । सिरिज जोगाउने हो भने आज पनि रोहितको ब्याट चल्न आवश्यक छ । सिरिजमा जीवित रहन नेपाले आजको खेल जित्नैपर्ने हुन्छ । पिएनजी भने लगातार दोस्रो जित निकाल्दै सिरिज क्लिनस्विप गर्न चाहन्छ । उसले पहिलो खेलमा राम्रो ब्याटिङ गरेको थियो । आज पसिन पिएनजी सोही लय दोहोर्याउन चाहन्छ ।

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, देव खनाल, अनिल साह (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेल, भीम सार्की, सोमपाल कामी, पवन सर्राफ, गुल्शनकुमार झा र सन्दीप लामिछाने (कप्तान) ।