काठमाडौं ।
देव खनाल र दीपेन्द्रसिंह ऐरीले नयाँ कीर्तिमान बनाएका छन् । उनीहरूले नेपालको तर्फबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक ठूलो साझेदारी गर्ने जाेडीकाे कीर्तिमान बनाएका हुन् । खनाल र ऐरीबीच तेस्रो विकेटको लागि १२९ रनको साझेदारी भयो ।
उनीहरूले यो साझेदारी पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध गरेका हुन् । याे एकदिवसीय क्रिकेटमा नेपालबाट बनेको कुनै पनि विकेटका लागि उच्च साझेदारी (१२९ रन) हो । यसअघि शुक्रबार पपुवा न्यूगिनीविरुद्ध नै आरिफ शेख र रोहितकुमार पौडेलले १ सय ४ रनको शतकीय साझेदारी गरेका थिए ।
दोस्रो खेलमा खराब सुरुवातका बाजुद नेपालले उत्कृष्ट कमब्याक गरेका छन् । नेपालले ओपनरद्वय कुशल भुर्तेल शून्य र अनिलकुमार साहलाई १ रनमा गुमाए पनि देव र दीपेन्द्रले पारी सम्हाले । दोस्रो एकदिवसीय म्याच खेल्ने क्रममा देवले ८६ बलमा चार चौका र तीन छक्काको मद्दतमा ७२ रनको पारी खेले ।
शुक्रबार डेब्यूमा शून्यमै आउट भए पनि उनले आज भने शानदार कमब्याक गरेका छन् । दीपेन्द्रले पनि उत्कृष्ट कमब्याक गरेका छन् । यो समाचार तयार पार्दासम्म उनले ११४ बलमा ६ चौकाको सहयोगमा ८२ रन बनाएर खेलिरहेका छन् ।
टिमले ३८ ओभरमा ४ विकेटको क्षतिमा १९७ रन बनाइसकेको छ । नेपालले चौथो विकेट गुमाउने क्रममा रोहित पौडेल ३५ रनमा आउट भए । उनले शुक्रबार १२६ रनको शानदार पारी खेलेका थिए । दुई खेलको सिरिजमा पिएनजी १–० ले अघि छ । सिरिज बराबर गर्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ ।