पिएनजीविरुद्ध दीपेन्द्रको शतक पूरा, विशाल लक्ष्यतर्फ अगाडि बढ्दै नेपाल

Image

काठमाडौं ।

पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाली टिमका ब्याटर दीपेन्द्रसिंह ऐरीले शतक पूरा गरेका छन् । उनले १३६ बलमा ६ चौकाको सहयोगमा शतक पूरा गरेका हुन् । उनले एकदिवसीय क्रिकेटमा दीपेन्द्रको यो पहिलो शतक हो ।

साथै, उनी यो प्रारूपमा शतक बनाउने तेस्रो नेपाली ब्याटर पनि बनेका छन् । यसअघि नेपालकोतर्फबाट एकदिवसीय क्रिकेटमा पारस खड्का (११५) र रोहितकुमार पौडेल (१२६ रन) ले शतक बनाइसकेका छन् । पछिल्लो समय खासै लयमा नदेखिएका ऐरीले आज भने शानदार ब्याटिङ गरिरहेका छन् ।

देव र दीपेन्द्रले बनाए कीर्तिमान

देव खनाल र दीपेन्द्रसिंह ऐरीले नयाँ कीर्तिमान बनाएका छन् । उनीहरूले नेपालको तर्फबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक ठूलो साझेदारी गर्ने कीर्तिमान बनाएका हुन् । खनाल र ऐरीबीच १२९ रनको साझेदारी भयो ।

उनीहरूले पिएनजीसँगको वानडे सिरिजको दोस्रो खेलमा यो साझेदारी गरेका हुन् । जुन एकदिवसीयमा नेपालबाट बनेको कुनै पनि विकेटका लागि उच्च साझेदारी (१२९ रन) हो । यसअघि शुक्रबार पपुवा न्यूगिनीविरुद्ध नै आरिफ शेख र रोहितकुमार पौडेलले १ सय ४ रनको शतकीय साझेदारी गरेका थिए ।

दोस्रो खेलमा खराब सुरुवातका बाजुद नेपालले उत्कृष्ट कमब्याक गरेका छन् । नेपालले ओपनरद्वय कुशल भुर्तेल शून्य र अनिलकुमार साहलाई १ रनमा गुमाए पनि देव र दीपेन्द्रले पारी सम्हाले । दोस्रो एकदिवसीय म्याच खेल्ने क्रममा देवले ८६ बलमा चार चौका र तीन छक्काको मद्दतमा ७२ रनको पारी खेले । शुक्रबार डेब्यूमा शून्यमै आउट भए पनि उनले आज भने शानदार कमब्याक गरे ।

यो समाचार तयार पार्दासम्म नेपालले ४६.४ ओभरमा ४ विकेटको क्षतिमा २४२ रन बनाइसकेको छ । नेपालले चौथो विकेटको रूपमा रोहितकुमार पौडेललाई ३५ रनमा गुमायो । उनले शुक्रबार १२६ रनको शतकीय पारी खेलेका थिए । दुई खेलको सिरिजमा पाहुना टोली पिएनजी १–० ले अघि छ । सिरिज बराबर गर्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ ।