२ विकेट गए पनि रोकिएन पिएनजीको रन गति, दबाबमा नेपाली बलर

Image

काठमाडौं ।

एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली नेपालले दिएको २७९ रनको लक्ष्य पछ्याएको पपुवा न्यूगिनी (पिएनजी) ले राम्रो ब्याटिङ गरिरहेको छ । सस्तैमा २ विकेट गुमाए पनि उसले रन गतिलाई भने कम कम हुन नदिएको हो ।

पिएनजीले ओपनर टोनी उरा ९ र कप्तान असद भालालाई शून्यमै गुमाए पनि लेगा सियाका र चार्ल्स अमिनीले आक्रामक ब्याटिङ गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म पिएनजीले १० ओभरमा २ विकेट गुमाएर ७१ रन बनाइसकेको छ ।

उसका लागि सियाका २५ र अमिनीले २९ रन बनाएर खेलिरहेका छन् । उनीहरूले यो अवस्थासम्म ११ चौका हिर्काइसकेका छन् । बलिङमा सोमपाल कामीले मात्र २ विकेट लिन सकेका छन् । त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७८ रन बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले । उनले १४० बलमा सात चौकासहित १०५ रन बनाए । उनले एकदिवसीय क्रिकेटमा दीपेन्द्रको यो पहिलो शतक हो ।

साथै, उनी यो प्रारूपमा शतक बनाउने तेस्रो नेपाली ब्याटर पनि बनेका छन् । यसअघि नेपालकोतर्फबाट एकदिवसीय क्रिकेटमा पारस खड्का (११५) र रोहितकुमार पौडेल (१२६ रन) ले शतक बनाइसकेका छन् । पछिल्लो समय खासै लयमा नदेखिएका ऐरीले आज भने उत्कृष्ट ब्याटिङ गरे ।

त्यस्तै, देवले ८६ बलमा चार चौका र तीन छक्काको मद्दतमा ७२ रनको पारी खेले । शुक्रबार डेब्यूमा शून्यमै आउट भए पनि उनले आज भने शानदार कमब्याक गरे । रोहितकुमार पौडेल ३५, भीम सार्की २६, आरिफ शेख चार, अनिलकुमार साह एक, कुशल भुर्तेल र पवन सर्राफ शून्यमा आउट भए ।

कप्तान सन्दीप लामिछानेले अन्तिममा आक्रामक पारी खेले । उनले ९ बलमा २ चौका र एक छक्कासहित अविजित २४ रन बनाए । त्यस्तै, सोमपाल कामी ३ रनमा नटआउट रहे । पिएनजीका अलि नाओले तीन, नर्मन भानुआले दुई, चार्ल्स अमिनी र चाड सोपरले एक/एक विकेट लिए ।

देव र दीपेन्द्रले बनाए कीर्तिमान

देव खनाल र दीपेन्द्रसिंह ऐरीले नयाँ कीर्तिमान बनाएका छन् । उनीहरूले नेपालको तर्फबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक ठूलो साझेदारी गर्ने कीर्तिमान बनाएका हुन् । खनाल र ऐरीबीच १२९ रनको साझेदारी भयो ।

उनीहरूले पिएनजीसँगको वानडे सिरिजको दोस्रो खेलमा यो साझेदारी गरेका हुन् । जुन एकदिवसीयमा नेपालबाट बनेको कुनै पनि विकेटका लागि उच्च साझेदारी (१२९ रन) हो । यसअघि शुक्रबार पपुवा न्यूगिनीविरुद्ध नै आरिफ शेख र रोहितकुमार पौडेलले १ सय ४ रनको शतकीय साझेदारी गरेका थिए ।

दुई खेलको सिरिजमा पाहुना टोली पिएनजी १–० ले अघि छ । सिरिज बराबर गर्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो ।