चेन्नईमाथि कोलकाताको शानदार जित, यी खेलाडी बने जितको ‘हिरो’

Image

काठमाडौं ।

इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । गएराति भएको सिजनको पहिलो खेलमा गत विजेता चेन्नई सुपर किंग्स (सिएसके) लाई ६ विकेटले हराउँदै कोलकाताले विजयी सुरुवात गरेको हो ।

चेन्नईले दिएको १३२ रनको लक्ष्य कोलकाताले १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि अजिंक्य रहाणेले ४४, साम बिलिङ्सले २५, नितिश राणाले २१, श्रेयस अय्यरले अविजित २० र वैंकटेश अय्यरले १६ रन बनाए ।

चेन्नईका ड्वेन ब्रावोले तीन र मिचेल सान्टनरले एक विकेट लिए । त्यसअघि मुम्बईस्थित वाङ्खडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३१ रन बनायो ।

उसका लागि महेन्द्रसिंह धोनीले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा सात चौका र एक छक्काको मद्दतमा अविजित ५० रन बनाए । त्यस्तै, रोबिन उथप्पाले २८ र कप्तान रवीन्द्र जडेजाले नटआउट २६ रनको योगदान दिए । ऋतुराज गायकवाड शून्य, डेभन कन्वे र शिवम् दुबे ३/३ रनमै आउट भए ।

कोलकाताका उमेश यादवले दुई, आन्द्रे रसेल र वरुण चक्रवर्तीले एक÷एक विकेट लिए । यसपालि आईपीएलमा १० टिमले प्रतिस्पर्धा गर्दै छन् । गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्स जोडिएसँगै फेरि आईपीएलमा १० टिमले प्रतिस्पर्धा गरिरहेका हुन् ।